नेपाल समाचारपत्र, काठमाडौं
फोहोर व्यवस्थापनसँग सम्बन्धित बहुपक्षीय भेलाले १० बुँदे मस्यौदा घोषणा जारी गरेको छ । उत्पादित फोहोरको व्यवस्थापन र श्रोतमा भएको फोहोर न्युनीकरणका विद्यमान समस्याको समाधान खोज्न आयोजना गरिएको फोहोरमैला व्यवस्थापन र विद्यमान ऐन कार्यान्वयनको अवस्था विषयक कार्यशालाले जारी गर्न लागेको प्रतिबद्धतापत्रमा क्षेत्रगत अवस्था समेट्नुपर्ने सुझाव आएपछि, प्रतिबद्धतापत्रलाई मस्यौदाका रुपमा जारी गरिएको हो ।
यस मस्यौदालाई साझेदार सबैकोमा पठाउने र त्यहाँबाट सुझाव प्राप्त गरेर प्रतिबद्धताका रुपमा तहगत सरकार र फोहोर व्यवस्थापनमा आबद्ध तथा नागरिक उत्तरदायित्व प्रवर्धनमा काम गरिरहेका निकाय तथा संघ संस्थाले हस्ताक्षर गर्नेछन् ।
कार्यक्रममा बोल्दै बन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले स्वच्छ वातावरणमा बाँच्न पाउने नागरिक अधिकारलाई संरक्षण गर्ने कामलाई मन्त्रालयले प्राथमिकतामा राखेको जानकारी गराउनुभयो । ‘बहुपक्षीय सरोकारको विषयमा क्षेत्रगत समन्वयबाट काम गरिनेछ, यसअन्तर्गत फोहोरमैला व्यवस्थापनमा संघ सरकारकातर्फबाट बहन गर्नु पर्ने दायित्व पूरा हुनेछन्’ –मन्त्री बस्नेतको भनाइ थियो । प्रदेश सभा सदस्य माधव पौडेलले फोहोर व्यवस्थापन सम्बन्धि विद्यमान कानुनी व्यवस्थाको अध्ययन गरेर संशोधनको आवश्यकता भए त्यतातिर जाने बाटोमा रहेको बताउनुभयो ।
काठमाडौं महानगरका प्रमुख विद्यासुन्दर शाक्यले भन्नुभयो– ‘फोहोर उत्पादकले व्यवस्थापकको दुःख पनि बुझ्नुपर्छ । एकदिन घरको फोहोर नउठ्दा चिन्तित हुने फोहोर उत्पादकले बर्षौदेखि फोहोर व्यवस्थापनमा सहयोग गरिरहेका ओखरपौवा फोहोर प्रभावित क्षेत्रका नागरिकको दुःख पनि बुझिदिनुपर्छ ।’ महानगर क्षेत्रको सफाइका लागि चलिरहेका अभियानको प्रसङ्ग उल्लेख गर्दै मेयर शाक्यले भन्नुभयो– ‘कुनै पनि अभियान निश्चित समयपछि सकिनुपर्छ । यदि वर्षौसम्म एउटै अभियान चलिरहन्छ भने त्यो अभियान असफल हो । त्यसैले परिणाम आउने र वातावरण सुधारमा महसुस हुने काम गरौं ।’
महानगरका प्रमुख प्रशासकीय अधिकृत यादवप्रसाद कोइरालाले काठमाडौं महानगरपालिकाले घरेलु फोहोर व्यवस्थापनमा आफ्नो जिम्मेवारी कहिल्यै पनि नछोडेको र संकलन, ढुवानी र अन्तिम व्यवस्थापन महानगरका नियमित काम भएको तथापि यी काम गरिरहँदा पनि अपजसको कमी नभएको अवस्था चित्रण गर्नुभयोे ।
वुढानिलकण्ठ नगरपालिकाका प्रमुख उद्धवप्रसाद खरेलले नागरिक आचार संहिता जारी गर्ने पर्ने खाँचो देखाउँदै, नागरिक फोहोर फ्यालेको फाल्यै गर्ने, नगरपालिकाहरुले उठाएको उठाइ गर्ने क्रम कहिल्यै नसकिने धारणा राख्नुभयो । कार्यशालामा फोहोर मैला व्यवस्थापन सम्बन्धि कानुनी व्यवस्थाको पालनाका विषयमा राष्ट्रिय योजना आयोगका पूर्व सदस्य डा. सुमित्रा अमात्यले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । फोहोरमैला व्यवस्थापन प्राविधिक सहयोग केन्द्रका कानुन अधिकृत दीपेन्द्र ओलीले औद्योगिक, प्लाष्टिकजन्य, विद्युतीयजस्ता हानीकारक फोहोरको नगर क्षेत्रमा प्रभाव, निमेष ढकालले बायोमेडिकल फोहोर व्यवस्थापनका विषमया कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।











प्रतिक्रिया