काठमाडौं, (नेस)
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले कञ्चनपुर घटनाको सत्यतथ्य छानबिन गरी घटनामा संलग्न दोषीलाई कडा कारबाही गर्न माग गरेको छ । नेकपाले १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या गर्ने हत्यारालाई पक्राउ गर्न माग गर्दै भएको प्रदर्शनमा सन्नी खुनाको निधन भएपछि घटनामा संलग्न दोषीमाथि कारबाही गर्न माग गरेको हो ।
नेकपाका वरिष्ठ नेता झलनाथ खनालले सरकारले संयमित भएर घटनामा संलग्न दोषीलाई कारबाही गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो– ‘घटनामा संलग्न दोषीलाई कारबाही गर्न सरकार दृढताको साथ लाग्नुपर्छ ।’
शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपाका सचिवालयको आकस्मिक बैठकले घटनाको सत्यतथ्य छानविन गर्न र सामाजिक रुपमा विकृति फैलाउन खोज्ने प्रवृत्तिको समेत छानविन गरी कानुनी दायरामा ल्याउन माग गरेको छ ।
बैठकपछि पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले शान्ति सुरक्षामा खतरा पार्ने घटना भइरहेकाले त्यस प्रकारको घटना हुन नदिन विशेष पहल गर्ने निर्णय भएको बताउनुभयो । उहाँले सामाजिक रुपमा भएका त्यस्ता आपराधिक घटनामा संलग्नलाई कानुनी दायरामा ल्याउने र पीडित परिवारलाई उचित राहतको प्रबन्ध गर्न समेत बैठकले आग्रह गरेको बताउनुभयो ।
बैठकमा नेताहरुले निर्मला पन्तको बलात्कारपछि हत्या गर्ने दोषीलाई पक्राउ गर्न भएको प्रदर्शनमा संयमता अपनाउन नसक्दा एक जनाको मृत्यु हुनु दुःखद विषय भएको भन्दै असन्तुष्टि जनाएका थिए । जवाफमा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार दोषीलाई कारवाही गर्न प्रतिबद्ध भएर लागेको बताउनुभयो ।
घटनाको अनुसन्धानलाई व्यापक, विश्वसनीय र प्रभावकारी बनाउने निर्णय गरेको बताउँदै प्रवक्ता श्रेष्ठले सामाजिक मूल्य मान्यतामा विकृति भित्रिएको, शान्ति सुरक्षामा खलल पार्ने काम भइरहेको सवालमा सबैलाई एकताबद्ध भएर सहकार्य गर्न पार्टीले आह्वान गरेको बताउनुभयो ।
बैठकले जनचेतना तथा जागरण फैलाउन दोषी देखिएका जोकोहीलाई पनि कारबाहीको प्रक्रियामा ल्याउन र सहजीकरण गर्न सबैलाई आग्रह गरेको छ ।
त्यसै गरी नेकपाका नेता लेखराज भट्टले कञ्चनपुर घटनाकाको छानविन गर्न स्वतन्त्र उच्च स्तरीय छानविन समिति गठन गर्न माग गर्नुभएको छ । उहाँले विज्ञप्ति जारी गर्दै स्थानीय प्रहरी प्रशासनमाथि आम जनताको विश्वास र भरोसा टुट्ने अवस्था आउन नदिनसमेत आग्रह गर्नुभएको छ । दोषीलाई
कारबाही हुन्छः प्रम
प्रधानमन्त्री केपी शर्मा ओलीले कञ्चनपुर घटनाका दोषीलाई कारबाहीको दायरामा ल्याउन सरकारले कुनै कसर बाँकी नराख्ने बताउनुभएको छ । उहाँले प्रधानमन्त्री ओलीले घटनालाई सरकारले गम्भीर रुपमा लिएकाले छानविन समिति गठन गरेको बताउनुभएको हो ।
घटनाका बिषयमा प्रधानमन्त्री ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई ध्यानाकर्षण गर्न आएका नेकपाका सांसद र नेताहरुसँग ओलीले दोषीलाई कानुनी कारबाहीमा ल्याइने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
‘यस घटनाको आवरणमा हिंसा भड्काउने प्रयास भएका छन् । यसमा सरकार गम्भीर छ’, प्रम ओलीले भन्नुभयो– ‘यस्ता व्यक्तिहरुको पहिचान गरी कारबाही गर्न र स्थितिलाई सहज बनाउन सुरक्षा निकायलाई निर्देशन दिइसकिएको छ ।’ उहाँले आन्दोलनको बहानामा व्यक्तिगत र सार्वजनिक सम्पत्तिको तोडफोड गर्नेलाई कानुनबमोजिम कारबाही गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।
नेकपाका स्थायी समिति सदस्य भीम रावलको नेतृत्वको टोलीले प्रधानमन्त्री ओली र अध्यक्ष दाहाललाई शनिबार बालुवाटारमा भेटेर घटनाको बारेमा जानकारी गराउँदै दोषी पत्ता लगाउन र कारबाही गर्न माग गरेको थियो ।











प्रतिक्रिया