‘विमस्टेकमा सबैलाई होइन, विद्यालय बिदा’

0
Shares

टीका बन्धन, काठमाडौं
बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (विमस्टेक) को चौथो शिखर सम्मेलनका क्रममा सार्वजनिक बिदा दिने वा सवारी जोरबिजोर प्रणालीमा चलाउने टुङ्गो अझै लागेको छैन ।

जोरबिजोर प्रणालीबारे छलफल भइरहेकाले निर्णय हुन बाँकी रहेको गृह मन्त्रालयले जनाएको छ । ‘के गर्दा उपयुक्त हुन्छ भनेर हामी छलफलकै क्रममा छां’ै, मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘सार्वजनिक बिदाभन्दा पनि विद्यालयहरु बिदा दिँदा सवारी आवागमन सहज हुन सक्छ ।’

विद्यार्थीको समस्यालाई ध्यान दिएर विद्यालय बिदा दिने तयारी भएको जानकारी दिँदै उहाँले सवारी व्यवस्थापनको विकल्पबारे छिटै टुङ्गो लाग्ने बताउनुभयो । सम्मेलन आगामी बुधबार र बिहीबार काठमाडौंमा आयोजना हुँदै छ । सम्मेलनलाई लक्षित गर्दै गृहमन्त्रीको संयोजकत्वमा सुरक्षा परिवहन तथा यातायात समिति गठन गरिएको छ ।

यसैबीच सदस्य राष्ट्रका राष्ट्रप्रमुख र सरकार प्रमुखको आवतजावतका लागि राष्ट्रपति, प्रधानमन्त्री कार्यालयसहित अन्य सरकारी र सुरक्षा निकाय मातहतका सुविधा सम्पन्न गाडी जुटाउन समितिले दौडधुप गरेको छ । ४ वर्षअघि काठमाडौंमा सम्पन्न १८औं सार्क सम्मेलन ताका ९ वटा सुविधा सम्पन्न गाडी कतारले सहयोग स्वरुप उपलब्ध गराएको थियो भने केही भारतबाट भाडामा ल्याएको थियो ।

विमस्टेकका लागि नयाँ गाडी भाडामा नल्याउने र विभिन्न निकाय मातहतका गाडी प्रयोगमा ल्याउने तयारी भइरहेको प्रवक्ता सुवेदीले जानकारी दिनुभयो । ‘हामी क्यालकुलेट (मूल्यांकन) गर्दै छौं, अहिलेसम्मको तयारीअनुसार भाडामा गाली ल्याउनु पर्दैन’ –उहाँले भन्नुभयो । १८औं सार्क सम्मेलनका क्रममा अनुसरण गरिएको सुरक्षा ढाँचा विमस्टेकमा पनि दोहो¥याउँदै सदस्य राष्ट्रका राष्ट्राध्यक्ष र सरकार प्रमुख ओहोरदोहोर गर्ने मार्गमा जामरको प्रयोग हुँदै छ ।

जामरले विशिष्ट पाहुना सवार हुने सडक र आसपासको क्षेत्रमा मोवाइल फोनलगायत अन्य सञ्चार सम्पर्क अवरुद्ध पार्ने गर्छ । सम्मेलनमा सहभागी हुन श्रीलंकाका राष्ट्रपति मैथ्रिपाला सिरिसेना, बंगलादेशकी प्रधानमन्त्री शेखहसिना बाजेद, भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, थाइल्यान्डका प्रधानमन्त्री प्रायुत व चा, म्यानमारका राष्ट्रपति विन मिन्ट र भुटानका अन्तरिम मन्त्रिपरिषद्का अध्यक्ष छिरिङ वाङ्चुक काठमाडौं आउँदै हुनुहुन्छ ।

म्यानमारका राष्ट्रपति सम्मेलनभन्दा दुई दिनअघि आगामी मंगलबार काठमाडौं आउँदै हुनुहुन्छ भने श्रीलंकाली राष्ट्रपति र भुटानका प्रधानमन्त्री बुधबार आइपुग्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । त्यसै गरी भारत, बंगलादेश र थाइल्यान्डका प्रधानमन्त्री सम्मेलन उद्घाटन हुने दिन बिहीबार बिहान मात्रै काठमाडौं आउने समय तय भएको बताइएको छ ।

म्यानमारका राष्ट्रपति सम्मेलन अगावै आगामी बुधबार लुम्बिनी जाने तयारीमा हुनुहुन्छ भने उहाँका श्रीलंकाली समकक्षी सिरिसेना सम्मेलन समापनपछि शनिबार लुम्बिनी जाने तयारीमा जुट्नु भएको परराष्ट्रले जनाएको छ ।