नेपाली खेलाडीको खराब प्रदर्शन जारी


नेपाल समाचारपत्र
काठमाडौं
इन्डोनेसियामा भइरहेको १८औं एसियाली खेलकुद एक सातामा पुगिसकेको स्थितिमा पनि नेपाली खेलाडीको निराशजनक प्रदर्शन जारी नै रहेको छ।

शुक्रबार प्रतिस्पर्धा गरिएका खेलहरू ब्याडमिन्टन, पौडी, आर्चरी र भलिबलमा नेपालले सुखद् नतिजा निकाल्न सकेन। ब्याडमिन्टनतर्फ पुरुष सिंगल्समा रत्नजित तामाङ र विकास श्रेष्ठले हार आत्मसात गरेका छन्। दक्षिण कोरियन खेलाडीसँग रत्नजित र जापानी खेलाडीसँग विकास हारेका थिए। महिला डबल्समा नेपाली जोडी अमिता गिरी र रशिला महर्जनले दक्षिण कोरियन जोडीसँग २१–७, २१–१ ले हार्न पुगे।

पौडी

पौडीमा हिजो तीन खेलाडीले प्रतिस्पर्धा गरेका थिए। महिला खेलाडी गौरिका सिंह र टीसा शाक्य तथा पुरुष खेलाडी शुभम् श्रेष्ठले राम्रो प्रदर्शन गर्न सकेनन्। गौरिका र टीसाले ५० मिटर फ्रि स्टाइलमा क्रमशः २१ र २३औं स्थानमा तथा शुभम् ५० मिटर ब्रेस्टस्ट्रोकमा ३२औं स्थानमा रहेका छन्। चार खेलाडीले नेपालको प्रतिनिधित्व गरेकोमा शिरीष गुरुङको स्पर्धा अघिल्लो दिनमै समाप्त भइसकेको थियो। यी चारै खेलाडी हिट चरणबाट बाहिरिएका थिए।

लन्डनमा प्रशिक्षण लिएकी गौरिकाले ५० मिटर फ्रि स्टाइलको दुरी २८.५० सेकन्डमा पुरा गर्दा टीसाले २९.६१ सेकेन्डमा सो दूरी पार गरेकी थिइन्। सो प्रतिस्पर्धामा ३१ जना खेलाडी सहभागिता भएका थिए। शुभम्ले ब्रेस्टस्ट्रोकको ५० मिटर दूरी ३२.४५ सेकेन्डमा पूरा गरेका थिए। यसमा ३६ जना खेलाडीले प्रतिस्पर्धा गरेका थिए।

भलिबल

पुरुष भलिबलमा नेपाल समूह ‘सी’ को लिग खेलमा दक्षिण कोरियासँग २५–१६, २५–१३ र २५–१४ को सोझो सेटमा पराजित भयो। नेपाल यसअघि चाइनिज ताइपेईसँग पनि ३–० को सोझो सेटमा पराजित भएको थियो।

आर्चरी

आर्चरीको रिकर्भ मिक्स टिम इभेन्टमा नेपाल पराजित भएको छ। नेपाल किर्गिस्तानसँग ५–४ ले पराजित भयो। नेपालबाट तिलक पुन मगर र ज्ञानु अवालेले प्रतिस्पर्धा गरेका थिए।

बक्सिङ

हिजै बक्सिङ खेल शुरू भएको छ र नेपाली खेलाडीले हार पनि बेहोरेको छ। महिला ५७ केजीमा संगीता सुनार थाइल्यान्डकी नीलावानसँग ५–० ले पराजित भइन्। यो हारसँगैं संगीताको क्वार्टरफाइनल पुग्ने सम्भावना समाप्त भएको छ।