भेनेजुयलामा अर्थतन्त्र धरासायी भएपछि लाखांै नागरिक पलायन


काराकास, (एजेन्सी)
भेनेजुयलामा बढ्दो महँगी र अर्थतन्त्र धरासायी हुन लागेकाले लाखौं नागरिक पलायन भइरहेका छन् । भेनेजुयलाका राष्ट्रपति निकोलस माडुरोले यो स्थितिबाट मुक्ति पाउन केही कदम पनि चालेको तर त्यसको कुनै विशेष फाइदा देखिएको छैन । नागरिकहरुले महामन्दीबाट गुज्रिरहेको अर्थव्यवस्था र यो भयावह स्थितिका लागि राष्ट्रपति माडुरो र उनको सरकार जिम्मेवार रहेको ठहर्याएका छन् ।

विपक्षको नियन्त्रणमा रहेको भेनेजुयलाको राष्ट्रिय असेम्बलीका अनुसार औषत प्रत्येक २६ दिनपछि मूल्य दुईगुणा भइरहेको छ । जुलाईमा वार्षिक महँगी दर ८३ हजार प्रतिशत पुगेको छ ।

आर्थिक मन्दी र महँगीको विकराल स्थितिमा भेनेजुयलाका जनताका लागि खाने पिउने सामान र अन्य केही आधारभूत वस्तु किन्न पनि कठिन भइरहेको छ ।

यहाँ महँगी यति धेरै बढेको छ कि एक कप कफीको मूल्य २५ लाख स्थानीय मुद्रा पुगेको छ । जनताले कुनै सामान किन्न नगद पैसा तिर्नसमेत नसकेको अवस्था छ । कुनै सामान किन्न झोलाभरि पैसा लिएर जानुको सट्टा भेनेजुयलाका जनता स–साना लेनदेनमा पनि इलेक्ट्रोनिक भुक्तानी शुरू गर्न थालेका छन् ।

भेनेजुयलामा ठूलो परिमाणमा तेलको भन्डार छ । तर यो शक्ति नै उसको कैयौं आर्थिक समस्याको कारण पनि बनेको छ । भेनेजुयलाको अर्थव्यवस्था अत्यधिक तेलमा निर्भर छ । तेलबाट प्राप्त हुने राजस्व उसको निर्यातको ९५ प्रतिशत छ । तेलको प्रचुर उत्पादन र निर्यातले धेरै डलर भित्रिन्छ र त्यसबाटै विदेशबाट आफ्ना जनताका लािग आवश्यक सामान खरिद गर्छ ।

तर सन् २०१४ मा तेलको मूल्यमा गिरावट आएपछि विदेशी मुद्रामा पनि कमी हुन थाल्यो । विदेशी मुद्रा कमीले आयातमा कठिनाइ उत्पन्न भयो र जनताको माग भने पहिलेको जस्तै कायम रह्यो । माग र आपूर्तिमा आएको अन्तरले देशमा महँगी चरम अवस्थामा पुगेको हो ।

माडुरो सरकारले देशको मुद्रा बोलिभारको नाम परिवर्तन गरी ‘सावरेन बोलिवार’ गरेका थिए । योसँगै ९५ प्रतिशत अवमूल्यन पनि गरेका थिए । देशमा उत्पन्न विकराल स्थितिका कारण सन् २०१४ देखि २३ लाखले देश छोडिसकेको सयुक्त राष्ट्रसंघले जनाएको छ ।

यहँँबाट पलायन भएकाहरु कोलम्बिया, इक्वेडोर, पेरु र चिलीमा शरण लिइरहेका छन् । कैयौं नागरिक ब्राजिल पुगेका छन् । यो स्थितिका लागि एक वर्गले राष्ट्रपति माडुरो र पूर्वनेताहरुको नीति जिम्मेवार ठहर्याएका छन् । तर राष्ट्रपति समर्थकहरु यसको पछाडि सत्ता अपदस्थ गर्ने प्रयासमा रहेका विपक्ष र अमेरिकी प्रतिबन्धलगायत कोलम्बिया यसको कारण भएको बताइरहेका छन् ।