भारतबाट दुई बालिकाको उद्धार गरी परिवारको जिम्मा


सीताराम चौधरी, कपिलवस्तु ।
मानव अधिकारको क्षेत्रमा क्रियाशिल शान्ति पुनस्र्थापना गृह कृष्णनगर कपिलवस्तुले भारतबाट दुई बालिकाको उद्धार गरेको छ ।
उद्धार गरिएका बालिकामा कपिलवस्तु कृष्णनगर गाउँपालिकाकी नाम परिवर्तन १७ वर्षीय काजल र दाङ जिल्लाकी नाम परिवर्तन १७ वर्षीय विनिता रहेकी छन् । भारतीय प्रहरीको सहयोगमा भारतको नौगढबाट काजललाई उद्धार गरिएको पीआरसी संयोजक भूमिराज भट्टराईले जानकारी दिनुभयो । यस्तै विनितालाई भारतीय बाल कल्याण समितिले गोरखपुरमा फेला पारेको संयोजक भट्टराईले बताउनुभयो ।
आफन्तकहाँ पढ्न गएकी काजल भारतको नौगढ प्लेट फर्ममा अलपत्र अवस्थाबाट भारतीय प्रहरीले उद्धार गरेर पीआरसीसँग समन्वय गरी कृष्णनगरसम्म ल्याएको थियो । पीआरसी कार्यालयमा ल्याइएकी काजललाई कृष्णनगर नगरपालिकाकी उपमेयर सबनम खातुनको रोहबरमा परिवारको जिम्मा लगाइएको थियो । अभिभावकको जिम्मा लगाउँदै न्यायपालिका प्रमुख समेत रहेकी खातुनले आफ्ना चेलीबेटीको पालनपोषणमा अभिभावकले विशेष ध्यान दिनुपर्ने सुझाव दिनुभयो । पछिल्लो समय कृष्णनगर नाकाबाट मानव बेचविखनका घटना बढ्दै गएकाले यसको रोकथामका लागि नगरपालिकाबाट आफूले यससम्बन्धी काम गर्ने संघसंस्थासँग समन्वय गरी अगाडि बढ्ने प्रतिबद्धता जाहेर गर्नुभयो ।
दाङ घर भएकी बालिका उपचारका क्रममा गोरखपुर जाँदा हराएकी थिइन् । उपचारपछि घर फर्किने क्रममा ट्रेनले गोण्डा पु¥याएको थियो । फेरि उनी गोण्डाबाट गोरखपुर फर्किएपछि बालबालिकाको क्षेत्रमा कार्यरत बालकल्याण समितिले विनितालाई उद्धार गर्न सफल भएको बताइएको छ । उद्धार गरिएकी बालिकालाई बालकल्याण समितिले मानव सेवा संस्थाको जिम्मा लगाएको थियो । मानव सेवा संस्थाका अध्यक्ष राजेशमणि त्रिपाठीले शान्ति पुनस्र्थापना गृहसँग समन्वय गरी परिवारसँग पुनर्मिलन गराइएको थियो । हराएकी बालिकाको खोजी कार्यमा सीसा नेपालका अध्यक्ष साजिदा सिद्धिकीले दाङबाट महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको पीआरसी संयोजक भूमिराज भट्टराईले जानकारी दिनुभयो ।