पर्यटकिय स्थलको विकासका लागि ५० लाख बजेट विनियोजन


किरन धामी, दार्चुला ।
दार्चुलाको उत्तरी क्षेत्रमा पर्ने ब्याँस गाउँपालिकाले गाउँपालिका क्षेत्र भित्र रहेका पर्यटकिय स्थलहरुको पहिचान तथा विकास गर्नका लागी चालु आर्थिक २०७५–०७६ मा ५० लाख रुपैया बजेट विनियोजन गरेको छ । गाउँपालिका क्षेत्र भित्र रहेका पर्यटकिय स्थलहरुको विकास गरी आन्तरीक तथा बाह्य पर्यटकलाई भित्र्याउने गाउँपालिकाको लक्ष्य रहेको छ ।
प्राकृतिक सुन्दरताले भरीपुर्ण हिमालको काखमा रहेको ब्याँस गाउँपालिकाको स्थानीय बाली फापरको खेतीले पर्यटकलाई आकर्षण गर्ने विस्वासका साथ पर्यटकिय क्षेत्रको विकासका लागी गाउँसभाबाट आवश्यक पर्ने बजेट विनियोजन गरिएको गाउँपालिकाका अध्यक्ष दिलिप सिंह बुढाथोकीले जानकारी दिए । ब्याँस गाउँपालिका–१ तिंकर गाउँको मुख्य बाली फापर हो । तिंकर गाउँमा यो सिजनमा हिउँदमा फल्ने अन्न फापर, उवा, आलु उत्पादन हुने गर्दछ ।
गाउँपालिकालाई पर्यटकिय क्षेत्र घोषणा गर्न हरेक वर्ष पर्यटकिय क्षेत्रको विकासमा आवश्यक पर्ने बजेट विनियोजन गरिने अध्यक्ष बुढाथोकीले जानकारी दिए । हिमालको काखमै रहेको तिंकर गाउँबाट गाउँपालिका भित्र पर्ने तथा भारत र चिनका हिमालको दृष्य समेत अवलोकन गर्न पाइन्छ । तिंकर गाउँमा यतिबेला फापर फुलेको छ ।
पछिल्लो समय दार्चुला जिल्लामा अलिकति भए पनि आन्तरिक तथा बाह्य पर्यटकहरु आउन थालेका छन् । गाउँपालिकाले पर्यटकिय स्थल सम्म जानको लागी पदमार्ग र संग्राहालय निर्माण गर्न बजेट विनियोजन गरेको छ । गाउँपालिका भित्र रहेका पर्यटकिय स्थलहरु सिनाको तातोपानी देखी रानी प्रसङ सम्म जाने पदमार्ग निर्माण र दुम्लिङ्ग देखी शिवताल सम्म जाने पदमार्ग निर्माणका लागी आवश्यक बजेट विनियोजन गरेको छ ।
यस्तै गाउँपालिकाको वडा नम्बर २ राप्ला र वडा नम्बर ५ मा यसै आर्थिक वर्ष भित्र निर्माण हुने संग्राहालयका लागी २० लाख बजेट विनियोजन गरीएको छ । तिंकर र ब्याँस गुफा सम्म जाने पदमार्गका लागी रु ५÷५ लाख बजेट विनियोजन गरेको अध्यक्ष बुढाथोकीले जानकारी दिए । गाउँपालिकाले १९६८ मा भारत द्धारा अतिक्रमित क्षेत्र कालापानीमा राज्यको उपस्थिति देखाउन बाटो निर्माण गर्ने भएको छ ।
गाउँपालिकाले कालापानी सम्म जाने बाटो निर्माणका लागी ६ लाख रुपैया विनियोजन गरेको अध्यक्ष बुढाथोकीले बताए । यस अघि आन्तरिक तथा बाह्य पर्यटकहरु कालापानी जाने भनेर आउने तथा कालापानी सम्म पुग्ने बाटो नहुदा ब्याँसको छाङरु सम्म मात्रै पुगेर फर्किने गरेको उनले बताए । ‘कालापानी सम्म जाने बाटो निर्माणका लागी बजेट विनियोजन गरेका छौ, अब याहा आउने पर्यटकको संख्यामा बृद्धि हुन्छ, उनले भने’ ।…….