मनमोहन अस्पतालमा अहिलेसम्मकै दुर्लभ ओपन हार्ट सर्जरी


चिरञ्जीवी मास्के, काठमाडौ ।
बरिष्ठ मुटुरोग विशेषज्ञ उप–प्राध्यापक डा. अनिल भट्टराईको नेतृत्वमा त्रि.वि. शिक्षण अस्पताल महाराजगञ्जमा रहेको मनमोहन कार्डियोथोरासिस भास्कुलर एण्ड टा«न्सप्लान्ट सेन्टरले अहिलेसम्मकै दुर्लभ खुल्ला हृदय शल्यक्रिया (ओपन हार्ट सर्जरी) सफल रुपमा सम्पन्न गरेको छ ।
अस्पतालले रामेछाप सुनपाती गाउँपालिकाकी २४ वर्षीया (३७ हप्ताकी गर्भवती महिला) प्रमिला अर्यालको मुटुको सफल शल्यक्रिया सम्पन्न गरेको हो । आमा र छोरा दुवैको स्वास्थ्य अवस्था अहिले राम्रो रहेको शल्यक्रियाको नेतृत्व गरेका डा. भट्टराइले जानकारी दिए ।
अर्याललाई टाईप ए अरोटिक डिसेक्शन विथ प्रेगनेन्सी रोग लागेको थियो । यो दुर्लभ रोग हो । यो रोग लागेपछि विरामी बाँच्ने सम्भवना अत्यन्तै न्यून हुन्छ । तर, मनमोहनको यो ९ वर्षको ईतिहाँसमा पहिलोपटक यस्तो रोग लागेका विरामीको सफल शल्यक्रिया भएको डा. भट्टराईले जानकारी दिए । जन्मदा बेहोस अवस्थामा रहेको बच्चाको तीन घण्टापछि होस आएको र आमालाई पनि अहिले भेन्टिलेटरबाट छुट्याएर आईसियूमा सारिएको डा भट्टराईले बताए ।
डा. भट्टराईले आफ्नो करिअरको १३ वर्षको ईतिहासमा यस्तो दुर्लभ रोग लागेका विरामीको सफल शल्यक्रिया गरेर नयाँ जीवन दिन पाउँदा खुशी लागेको बताएका छन् ।
सेन्टरका कार्यकारी निर्देशक प्राध्यापक डा. उत्तमकृष्ण श्रेष्ठलेपनि यस्तो दुर्लभ रोग लागेको विरामीको आफ्नो सेन्टर र यसका डाक्टरहरुले सफल शल्यक्रिया सम्पन्न गरेर आमा र छोरा बचाउन सफल भएकोमा खुशी व्यक्त गरे । उक्त शल्यक्रियामा कार्डियाक सर्जरी टिमका डा. भट्टराईका साथै डा. प्रभात खकुरेल, डा. रवि बराल र डा. निकेश भण्डारी सहभागी थिए । त्यस्तै एनस्थेसिया टिममा डा. विश्वास प्रधान, डा. विभुष श्रेष्ठ, डा. मन्दिरा बस्नेत, डा. प्रिष्का बास्तोला र डा. अर्जुन गुरुङ सहभागी थिए ।
गाईनोकोलोजीमा भने डा. ज्योति शर्मा, डा. बेखा लक्ष्मी मानन्धर, डा. सुनिति रावल, डा. सुनिता बज्राचार्य र डा. सुभाना माष्के सहभागी थिए । त्यस्तै बाल रोग विशेषज्ञमा डा. प्रदीप पौडेल र डा. कविता मानन्धर उपचारमा संलग्न थिए । परफ्युजन टिममा महेन्द्र भट्ट, पुर्ण मोक्तान र रविन्द्र शाह संलग्न थिए ।