नाइँ नभन्नु ल ५ सँगै रेनी

0
Shares

भदौ लागेसँगै फिल्म रिलिजको भेल बढेको छ। अघिल्लो साता एकसाथ ४ फिल्म आएको सिने बजारमा यो साता २ फिल्म रिलिज हुने भएको छ।

अघिल्लो साता जय शम्भो, मिस्टर भर्जिन, ब्ल्याक र बाह्रमासे नामका फिल्म आएको सिने बजारमा आज शुक्रबारबाट लेखक तथा निर्देशक विकासराज आचार्यको नामका आधारमा हिट सिरिज नाइँ नभन्नु ल ५ का साथमा रेनी नामक फिल्म रिलिजमा आउने भएको छ।
विकासराज आचार्यको निर्देशन र लेखनमा बनेको फिल्म नाइँ नभन्नु ल ५ आज शुक्रबारबाट देशभर रिलिज हुँदै छ। नाइँ नभन्नु लको नामको पाँचौ फिल्मलाई यस वर्षको प्रतिक्षित फिल्मका रूपमा लिइएको छ।

फिल्मको ट्रेलरले युट्युबमा निकै चर्चा कमाएको छ। अघिल्ला सिरिजमा जस्तै बाल प्रेमलाई मुख्य विषय बनाएर निर्माण गरिएको नाइँ नभन्नु ल ५ मा बाल कलाकारद्वय अनुभव रेग्मी र सेड्रिना शर्मा मुख्य भूमिकामा छन् भने दिलिप रायमाझी र निरुता सिंहले पुनरागमन पाएका छन्। त्यसै गरी विकासराज आचार्यले नाइँ नभन्नु लको पहिलो शृंखलादेखि नै राख्न चाहेको नायिका केकी अधिकारीलाई पनि यसमा देखिनेछ। फिल्ममा प्रियंका कार्की, स्वस्तिमा खड्का, अभिषेक नेपाल, बुद्धि तामाङ, जयनन्द लामा, उत्तम केसीलगायतका कलाकारले पनि अभिनय गरेका छन्। पत्रकार तथा फिल्म निर्देशक सामीप्यराज तिमिल्सिना र विकास आचार्यको कथा, पटकथा तथा संवाद रहेको फिल्ममा वसन्त सापकोटाको संगीत, कविराज गहतराजको कोरियोग्राफी पुरुषोत्तम प्रधानको छायांकन र अर्जुन जिसीको सम्पादन रहेको छ।

त्रिकोणात्मक प्रेमकथामा बनेको फिल्म रेनी पनि आजबाटै देशभरका सिनेमा हलमा लाग्दै छ। फिल्ममा फिल्मको स्क्रिप्ट राइटर र गीतकारसमेत रहेकी नवअभिनेतृ सनम मल्ल र अभिनेता दीपक ढकाल प्रमुख कलाकारका रूपमा रहेका छन्। विमला मल्ल र संजीव मल्लको निर्माण तथा गिरिश रिजालको निर्देशनमा बनेको फिल्ममा सरोज खनाल, सनम मल्ल, दीपक ढकाल, सुरवीर पण्डित, रमेश लम्साल, बबिता लम्साल, टंक डुम्रे, गुरु भुटिया, विजय तिखातारीलगायतका कलाकारले अभिनय गरेका छन्। फिल्ममा द्वन्द्व राजु किराँती, नृत्य निर्देशन मदन खड्का, छायांकन, जयराम थापा र सम्पादन विजय तिखतारीको रहेको छ।