नरेन्द्र केसी, घोराही, दाङ
तेह्र बर्ष भूमिगत भएर माओवादी लडाकूको कमाण्डर र पाँच बर्ष नेपाली सेनाको जागीरपछि रुकुम खाराका विनोद खड्काले कृषि कर्म रोजेका छन् ।
जनयुद्धमा हिडेका विनोद तत्कालीन जनमुक्ति सेनाको बटालियन सहायक कमाण्डरसम्म पुग्नुभयो । तर, युद्ध रोकेर शान्ति प्रक्रिया शुरु भएपछि विनोदको जीवन यात्रा पनि बदलियो । २०५६ सालदेखि जनयुद्धमा पूर्णकालीन लडाकू बनेका विनोदले शान्ति प्रक्रियापछि सेना समायोजन रोज्नुभयो । तर, समायोजन सोचेजस्तो भएन ।
सेना समायोजनको बेला कमाण्डर हुनुपर्नेमा सिपाही लेखिएपछि नेपाली सेनामा कमाण्डर बन्ने अवसर गुम्यो । त्यतिबेला उहाँलाई निकै दुःख लाग्यो तर पनि नौ महिना तालिम लिएपछि शुरु भयो, उहाँको सेनाको जागीर । पूर्व जनमुक्ति सेनाको बटालियनन सहायक कमाण्डर नियमले सुवेदार हुनुपर्ने भए पनि उहाँ हुनसक्नुभएन । तालिमपछि उहाँको सिन्धुली रानीवास सरुवा भयो । एकबर्ष पहिले सिन्धुलीबाट अन्य ठाउँ बस्दै भैरवप्रसाद गण नेपालगञ्जबाट पेन्सन निस्कनुभयो ।
जनमुक्ति सेनाको कमाण्डर, नेपाली सेनाको सिपाहीहुँदै अहिले उहाँको तेस्रो जीवनयात्रा शुरु भएको छ भैसी पालक किसानको रुपमा । सायद उहाँ सुवेदारमै भएको भए अझै नेपाली सेनामै हुनुहुन्थ्यो तर सिपाही बन्नुपरेकाले उहाँले समय पुगेपछि पेन्सन रोजेर कृषि पेशामा लाग्नुभयो ।
विहानै उठेर पिटी परेड, रोलकल, कासन, फर्मेसन जे भए पनि भैसीसँगै शुरु हुन्छ उहाँको । आजभोलि आफै भैसीको स्याहारसुसारदेखि दूध दुहुने काममा खट्नुहुन्छ । घोराही बजारमा दूध बेच्नुहुन्छ । त्यसो त दूध लिन ग्राहकहरु उहाँकै फार्मसम्म पनि पुग्छन् । उहाँले यो फर्ममा ३५ लाख लगानी गरिसक्नुभएको छ भने फर्ममा बीस ठूला भैसी र पाडासहित तीसको हाराहारीमा छन् ।
निकट भविष्यमै भैसीको संख्या एक सय पुर्याउने उहाँको योजना छ । एउटा भैसीका लागि करीब एक लाख लगानी गर्नुपर्छ । उहाँले अहिले दैनिक सय लिटरभन्दा बढी दूध बिक्री गर्नुहुुन्छ । नियमित ग्राहकलाई मोटरसाइकलमै राखेर घरघरमा दूध पुर्याइन्छ । बढी भएको दूध डेरीमा पुर्याउने गरिएको छ, दूध बेचेर मासिक तीन लाख जतिको कारोबार हुने गरेको छ ।
फार्ममा रहेका भैसीले दिनमा दुइपटक दूध दिने गरेका छन् । दुइ बिघाभन्दा बढी जग्गा दश बर्षका लागि बार्षिक एक लाख भाडामा लिएर घोराही १८ रझेनामा फार्म सञ्चालन गरिएको छ । मिलिजुली बहुउद्देश्यीय पशुपालन तथा कृषि फार्मको नामबाट कारोवार भइहरको छ । यो फार्मले थप पाँच जनालाई रोजगारी पनि दिएको छ । अहिलेसम्म यो फार्मले कतैबाट अनुदान पाएको छैन भने भैसी विरामी हुँदा आफै उपचार गर्ने गरेका छन् । भैसीको विमा भने गरिएको फार्म सञ्चालक विनोदले जानकारी दिनुभयो । जसअनुसार प्रत्येक भैसीको बार्षिक एक हजार दुइ सय रकम तिर्नुपर्छ ।











प्रतिक्रिया