मोतीराम तिमल्सिना, काभ्रे
स्थानीय सरकारहरुलाई करको आरोप लागिरहेका बेला बनेपा नगरपालिकाले नागरिकहरुको स्वास्थ्यलाई ध्यानमा राखी मोतियाविन्दु रहित नगर बनाउने घोषणा गरेको छ ।
रेयुकाई मासुनागा आँखा अस्पताल र बनेपा नगरपालिका बीच भएको सम्झौता बमोजिम नगरपालिकामा भएका मोतियाविन्दुका विरामीहरुलाई निशुल्क शल्यक्रिया गरिनेछ । बुधबार सम्झौता गरी विहिबार बृहत्त कार्यक्रमको आयोजना गरी सम्झौताका बारेमा जानकारी गराईएको थियो । ‘हामी नगरबासिहरुको स्वास्थ्य प्रति सचेत छौं’–नगर प्रमुख लक्ष्मी नरसिं बादेले भने–‘पहिलो चरणमा आँखाको मोतिया विन्दु भएका विरामीहरुको निशुल्क शल्यक्रियाको अभियान शुरु गरेका छौं, दोश्रो चरणमा महिलाहरुको स्तन र पाठेघर क्यान्सरको निशुल्क शल्यक्रिया गराउन छलफलमा छौं ।’ नगरपालिकामा निर्वाचित भए देखि नै नगरबासिहरुको हितका लागि काम गरिरहेको बताउँदै नगर प्रमुख बादेले जनताको स्वास्थ्य राम्रो हुँदा नगरबासिहरुको आय श्रोत बढ्ने र स्वास्थ्यमा खर्च हुने रकम अन्यत्र खर्च गर्न सकिने नगर प्रमुख बादेले बताए ।
बनेपा नगरपालिकाले उक्त अभियानका लागि ५ लाख रुपैया सहयोग अस्पताललाई उपलब्ध गराएको छ । रोटरी क्लव अफ धुलिखेलको तर्फबाट नगद २ लाख ५० हजार र क्रियटिभ साकोसले २ लाख ५० हजार रकम गरी १० लाख रुपैया अस्पताललाई उपलब्ध गराईएको हो । मोतियाविन्दुको अप्रेसनका लागि हातबाट ६ हजार र मेशिनबाट ११ हजार रुपैया खर्च हुने गरेको छ । अस्पतालले ६ हजारमा हुने अप्रेसनलाई सस्तो गर्दै १० लाखबाट ५ सय भन्दा धेरै ब्यक्तिहरुको शल्यक्रिया गर्ने प्रतिवद्धता ब्यक्त गरेको अस्पतालका सचिव हिरामणी शर्माले बताए । अस्पतालको स्थापनाबाटै आँखा सम्वन्धीका सबै रोगमा सर्वसाधारणको हित अनुकुल हुने गरी निर्णय भएको र सोहि अनुसार कार्य गरिरहेकाले बनेपा नगरपालिका भित्र रहेका स्थायी बसोबास गर्ने सबै नागरिकहरुलाई यो सुविधा उपलब्ध गराउन उक्त सम्झौता गरिएको शर्माले बताए । बनेपा नगर उक्त सम्झौता पछि मोतियाविन्दु रहित नगरका रुपमा विकास हुने शर्माले बताए । मोतियाविन्दु निर्मुल पार्न जनचेतना मुलक कार्य समेत सँगै लैजाने उनले बताए ।
बनेपा नगरपालिका उपप्रमुख रेखा सापकोटाले नगरपालिकाले नगरबासिहरुको स्वास्थ्य सँगै सरसफाईमा पनि विशेष जोड दिएको बताईन् । केहि महिना अघि सडकमा थुप्रिएका फोहोरलाई ब्यवस्थापन गरी दिगो रुपमा नगरको सरसफाईका लागि कार्य गरेको उपप्रमुख सापकोटाले बताईन् । ‘शिक्षा, स्वास्थ्य, खानेपानी, सरसफाई नगरपालिकाको पहिलो प्राथमिकता हो’–उपप्रमुख सापकोटाले भनिन–‘मोतियाविन्दु र क्यान्सरको शल्यक्रियाका लागि रकम अभाव भए नगरपालिकाले थप उपलब्ध गराउने छ ।’
कार्यक्रममा जिल्ला समन्वय समिति काभ्रेका प्रमुख उद्धव केसीले १३ वटै स्थानीय सरकारले यो अभियानमा सहयोग गरी जिल्लालाई नै मोतियाविन्दु रहित जिल्ला घोषणा गर्ने अभियानमा सहभागि हुन आब्हान गरे । कार्यक्रममा रोटरी क्लव अफ धुलिखेल तथा अस्पतालका सल्लाहकार अशोक श्रेष्ठले रोटरीको आब्हानमा विभिन्न क्षेत्रबाट भएको सहयोगले अस्पताल प्रविधि मैत्री र आधुनिकिकरण हुन सकेको बताउँदै आगामी दिनमा नागरिकहरुको सेवाका लागि रोटरीले थप सहयोगका लागि पहल गर्ने बताएका थिए ।
उक्त कार्यक्रममा नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष मोतिराम तिमल्सिना, अस्प्तालका अध्यक्ष मधु आचार्य, सेवा फाउण्डेशनकी पारमी धाख्वा, रोटरी क्लव अफ धुलिखेलका अध्यक्ष लक्ष्मी खनाल, अस्पतालका डाईरेक्टर प्रज्ञ लुईटेल, क्रियटिभ सहकारीका अध्यक्ष कमला श्रेष्ठ, नगरपालिकाका वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, स्थानीयहरुको सहभागिता रहेको थियो । नगरपालिकाको उक्त अभियानलाई नगरबासिहरुले धन्यवाद दिएका छन् । शुभारम्भकै दिन दुई जनाले निशुल्क शल्यक्रिया गराएका छन् ।











प्रतिक्रिया