विपद् व्यवस्थापन प्राधिकरण गठन तयारी


काठमाडौँ ।
विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि गृह मन्त्रालयले विपद् व्यवस्थापन प्राधिकरण गठनको तयारी गरेको छ ।
विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनसम्बन्धी कानून संशोधन र एकीकरण गर्न बनेको ऐन, २०७४ अनुसार प्राधिकरण गठन गर्ने तयारी भएको मन्त्रालयका विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखा, विपद् अध्ययन जोखिम न्यूनीकरण तथा पुनर्लाभ शाखाका उपसचिव वंशीकुमार आचार्यले जानकारी दिनुभयो ।
विश्व मानवता दिवस–२०१८ काम सन्दर्भमा एशोशियशन अफ इन्टरनेशनल एनजीओज इन नेपाल९आयन० ले आज आयोजना गरेको अन्तक्र्रियामा उपसचिव आचार्यले उक्त प्राधिकरणले विपद् व्यवस्थापनका सबै क्रियाकलापको समन्वयात्मक र प्रभावकारी रुपमा व्यवस्थापन गर्ने परिकल्पना गरिएको बताउनुभयो ।
सार्क राष्ट्रमध्ये पहिले नेपालले सन् १९८२ मा नै विपद् जोखिम न्यूनीकरण तथा उद्धारसम्बन्धमा कानुनी रुपमा नै कार्य थालेको जानकारी दिँदै उहाँले भन्नुभयो, “अहिले स्थानीय सरकारलाई नै विपद् व्यवस्थापनसम्बन्धी एकल अधिकार दिएका छौँ । स्थानीयवासीले व्यवस्थापन गर्न नसक्ने अवस्था आएमा प्रदेश सरकार तथा मन्त्रालयले हेर्नेछ ।”
कार्यक्रममा आयनका प्रमुख शुभेशचन्द्र रेग्मीले विपद्का बेला कुनै एनजीओ आइएनजीओले गल्ती गरेमा समग्र संगठनलाई नै आरोप लगाउने प्रवृत्तिको अन्त्य गरिनुपर्छ भन्नुभयो । सो अवसरमा ‘रिपब्लिका’ दैनिकका सुवास घिमिरे र ‘द काठमाडौँ पोष्ट’का अनिल गिरीले विपद्का बेला समाचार तयार गर्दा सञ्चारकर्मीले संवेदनशील भएर काम गर्नुपर्नेमा जोड दिनुभयो । प्रत्येक वर्ष अगष्ट १९ मा मानवता दिवस मनाइन्छ ।
रासस