चितवनका पानी उद्योगमा अनुगमन, १० उद्योगमा शिलबन्दी


चितवन ।
चितवनमा संचालनमा रहेका १० वटा पानी उद्योगहरु आज बन्द गरिएको छ । जिल्ला प्रशासन कार्यालय चितवनको अनुगमन टोलीले मापदण्ड विपरितका पानी उद्योगहरु बन्द गरेको हो । टोलीले १० वटै उद्योगमा शिल लगाएर बन्द गरेको छ । पानी निर्देशिका २०७४ विपरित संचालन भएको भन्दै उद्योगहरुमा शिल लगाएर बन्द गरिएको जिल्ला प्रशासन कार्यालय चितवनका खाद्य निरीक्षक प्रविण तिवारीले जानकारी दिए ।

पानी निर्देशिकामा पानी उद्योग तथा मिनिरल वाटर कम्पनीहरुले अटोमेटिक मेसिनको प्रयोग गरेर उद्योग संचालन गर्नुपर्ने उल्लेख रहेको छ । त्यसको विपरित संचालनमा रहेको चितवनको खैरहनी, रत्ननगर र भरतपुरको विभिन्न स्थानमा रहेको उद्योगहरुले हाते प्रविधिबाट पानी भर्ने गरेको उनले बताए । उद्योगीहरुलाई गत चैतमा नै यसविषयमा जानकारी दिइएको तर पटक–पटक जानकारी दिँदा समेत उद्योगीहरुले बेवास्था गरेकाले उद्योगमा शिल नै लगाएर बन्द गर्नुपरेको खाद्य निरीक्षक तिवारीले बताए ।

अनुगमन टोलीले खैरहनीको ओम जल उद्योग, रत्ननगरको ब्रदर्श फुड एण्ड बेभेरेज, भरतपुरको इच्छाकामना इन्डस्ट्री, अप्सरा पानी उद्योग, चितवन पानी उद्योग, लिप्टन सफ्ट ड्रिन्क, युनाइटेड मिनरल, प्रधान मिनिरल, डिसिएम मिनिरल एण्ड बेभेरेज उद्योग बन्द गरेको छ ।

चितवनमा रहेका १७ वटा पानी उद्योगहरु मध्ये ३ वटाले मात्रै अटोमेटिक मेसिनको प्रयोग गरेका छन् । जसमध्ये ३ वटा उद्योगले जारमा मात्रै पानी बिक्री गर्ने भएकोले अटोमेटिक मेसिन प्रयोग गर्न अनिवार्य नरहेको जनाइएको छ । त्यस्तै अनुमगन टोलीले रत्ननगर ४ देवौलीमा विना अनुमति संचालनमा रहेको अक्वा शक्ती नामक पानी उद्योग समेत बन्द गराएको छ । उद्योगको संचालकलाई दुई दिनभित्र जिल्ला प्रशासन कार्यालय चितवनमा उपस्थित हुन पत्र समेत दिइएको छ ।

खाद्य निरीक्षक तिवारीको नेतृत्वमा गएको टोलीमा जिल्ला प्रशासन कार्यालयका सुरेश थापा, उपभोक्ता अधिकार संरक्षण मञ्च चितवनका उपाध्यक्ष विष्णु भुषाल र पत्रकारहरुको सहभागिता रहेको थियो ।