चितवन राष्ट्रिय निकुञ्जद्धारा दुई करोड बढी राजस्व संकलन


चितवन ।
चितवन राष्ट्रिय निकुञ्जले गत आर्थिक वर्ष २०७४÷०७५ मा २४ करोड ८१ लाख ९९ हजार ९९८ रुपैयाँ राजस्व आम्दानी गरेको छ । चितवन राष्ट्रिय निकुञ्जले दिएको तथ्यांकअनुसार निकुञ्जले सबैभन्दा धेरै आम्दानी कात्तिक र फागुन महिनामा गरेको छ । गत आर्थिक वर्षको कात्तिक महिनामा तीन करोड १९ लाख ३५ हजार ६३७ रुपैयाँ र फागुन महिनामा दुई करोड ६८ लाख ३३ हजार २२५ रुपैयाँ आम्दानी गरेको थियो । त्यसैगरी निकुञ्जले उपलब्ध गराएको तथ्यांकमा सबैभन्दा कम असार महिनामा १६ लाख ३९ लाख ७०२ रुपैयाँ आम्दानी भएको थियो ।

त्यसैगरी गत आर्थिक वर्ष २०७३र०७४ मा निकुञ्जले २२ करोड ५१ लख ६३ हजार ४०९ रुपैयाँ आम्दानी गरेको थियो । तर, विनाशकारी भूकम्प गएको वर्ष विसं २०७२र०७३ मा भने निकुञ्जको आम्दानी जम्मा १३ करोड १२ लाख २० हजार २५५ रुपैयाँ मात्र आम्दानी गरेको थियो ।

यसरी हेर्दा गत वर्षभन्दा यस वर्ष निकुञ्जको राजस्व आम्दानी दुई करोड ३० लाख ३६ हजार ५८९ रुपैयाँ बढी रहेको छ । भूकम्प, नाकाबन्दी र नारायणगढ–मुग्लिन सडकको कारणले विगत केही वर्षअघि भन्दा पछिल्ला दुई वर्षमा पर्यटकको संख्या बढ्दै गएकोले राजस्व आम्दानी पनि बढ्दै गएको निकुञ्जले जनाएको छ । दुई वर्ष अघिको अवस्था हेर्दा राजस्वको आम्दानी ५० प्रतिशत भन्दा बढीले गिरावट आएको थियो । निकुञ्जको मुख्य आम्दानी नै पर्यटकहरुको प्रवेश शुल्क रहेको निकुञ्जको तथ्यांकमा उल्लेख छ ।