मोरङको शान्ति सुरक्षालाई चुस्त बनाउन कांग्रेसको खबरदारी


सरोज यादव, विराटनगर ।
शान्ति सुरक्षालाई चुस्त दुरुस्त बनाउन नेपाली कांग्रेस मोरङले माग गरेको छ । विराटनगरसहित मोरङको शान्ति सुरक्षा कमजोर भएको भन्दै मोरङ कांग्रेसले प्रशासनलाई ज्ञापनपत्रसमेत बुझाएको छ । पछिल्लो समय विराटनगरमा बम विस्फोट र हत्या हिंसाका घटना बढ्दै गएको भन्दै कांग्रेसले आज मोरङका प्रमुख जिल्ला अधिकारी रमेश केसीलाई ज्ञापनपत्र बुझाएको हो ।

कांग्रेसले विराटनगर महानगरपालिकाभित्र बम विस्फोट भएको दुई हप्ता बित्न लाग्दा पनि दोषीलाई पक्राउ गर्न नसकेकोमा आपत्ति जनाएको छ । जिल्लाको शान्ति सुरक्षा मजबुत बनाउन कांग्रेसले माग मोरङ कांग्रेसका सभापति डिगबहादुर लिम्बूले माग गर्नुभयो । सभापति लिम्बूले जनतालाई शान्ति सुरक्षाको प्रत्याभूति नदिलाए कडा आन्दोलनमा उत्रिने चेतावनीसमेत दिए । मोरङको जाँतेस्थित श्रीमाविमा विषादी हाल्नेलाई अहिलेसम्म पक्राउ गर्न नसक्नुले प्रहरीप्रतिको जनताको विश्वास गिर्दै गएको ज्ञापनपत्रमा उल्लेख छ ।

विराटनगर–४ का सुरक्षागार्ड टंक भट्टराईको हत्यारालाई तत्काल पक्राउ गर्नुपर्ने, रात्रीकालीन सुरक्षा गस्ती बढाउनुपर्नेलगायतका माग राखेर कांग्रेसले ज्ञापनपत्र बुझाएको छ । ज्ञापनपत्रलाई बेवास्ता गरे सशक्त आन्दोलनमा उत्रिन बाध्य हुने मोरङ कांग्रेसका सचिव नागेश कोइरालाले बताए । विराटनगरमा भएका पछिल्ला आपराधिक गतिविधिले आमजनतामा मनोवैज्ञानिक त्रास उत्पन्न भएको ज्ञापनपत्रमा उल्लेख छ । ज्ञापनपत्र बुभ्mदै प्रजिअ केसीले जनताको जिउधनको सुरक्षा गर्न प्रहरी प्रशासनले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धतासमेत व्यक्त गरेका छन ।