स्थानिय युवाद्धारा सुर्नया गाँउपालिकामा तालाबन्दी


विनोद सिंह विष्ट, बैतडी ।
बैतडीको सुर्नया गाँउपालिका कार्यालयमा आज स्थानिय युवाहरुले तालाबन्दी गरेका छन् । गाँउपालिकामा सार्वजनिक सुनुवाई गर्नुपर्ने माग गर्दै उनीहरुले अनिश्चितकालिन तालाबन्दी गरेका हुन्। यसअघि भदौ १गते पनि उनिहरुले सार्वजनिक सुनुवाईको माग गर्दै प्रेस बिज्ञप्ती जारी गरेका थिए ।
गत असारमै आर्थिक बर्ष २०७४÷०७५मा सम्पादन भएका क्रियाकलापहरुको बिषयमा नागरिकलाई जानकारी दिनुपर्ने भन्दै युवाहरुले साउन महिनाको सुरु देखिनै सार्वजनिक सुनुवाईको माग गरिरहेको भएपनि कुनै वास्ता नगरेपछी तालाबन्दी गर्न बाध्य भएका सुर्नया कृषि अभियान युवाक्लवका अध्यक्ष नरेश बिष्टले बताए ।
यसअघि सुर्नया कृषिअभियान युवा क्लवले गत साउन १९ गते युवा स्वरोजगार बहसको आयोजना गरि युवाहरुका माग गाँउपालिकाको निति तथा कार्यक्रममा समेटिनुपर्ने माग गरेका थिए । तर, गाँउपालिकाले आगामी आर्थिक बर्ष २०७५÷०७६का लागी सार्वजनिक गरेको निति तथा कार्यक्रममा युवा शब्द समेत उल्लेख नगरेको युवाहरुले बताएका छन् ।
यता सुर्नया गाउपालिका अध्यक्ष बिर बहादुर बिष्टले भने, गाउपालिकामा अहिले कर्मचारी नभएका कारण सार्वजनिक सुनुवाई गर्न नसकिएको बताए । कर्मचारीका तर्फबाट जवाफदिने ब्यक्ति प्रमुख प्रशासकिय अधिकृत गणेश ऐरी ३५ दिने तालिमका क्रममा जिल्ला बाहिर रहेका कारण सार्वजनिक सुनुवाई गर्न नसकिएको उनले बताए ।