भक्तपुरको एक लाख रोपनीमा स्मार्ट सिटी बनाउनेः पूर्वमन्त्री बस्नेत


भक्तपुर ।
चाँगुनारायण नगरपालिकाले आज पूर्ण सरसफाइ रणनीतिक योजना २०७५ सार्वजनिक गरेको छ ।

नगरस्तरीय खानेपानी सरसफाइ तथा स्वच्छता समन्वय समिति चाँगुनारायण नगरपालिकाले आयोजना गरेको कार्यक्रममा सांसद एवं पूर्वमन्त्री महेश बस्नेतले योजनाको पुस्तक सार्वजनिक गर्नुभयो । भक्तपुरमा इँटाभट्टाले वातावरण प्रदूषण गरिरहेको बताउँदै उहाँले जिल्लामा स्मार्ट सिटी र अन्तर्राष्ट्रिय रङ्गशाला बनाउन खोज्दा विकास विरोधी तत्वले अवरोध गर्न खोजेको बताउनुभयो । उहाँले भन्नुभयो, “ भक्तपुरको विकास अब कसैले रोक्न सक्दैन र यहाँ रङ्गशाला पनि बन्छ ।”

भक्तपुरको एक लाख रोपनीमा स्मार्ट सिटी बनाउने, जग्गा एकीकरण गरी सार्वजनिक जग्गालाई एकै ठाउँमा ल्याएर एक हजार रोपनीमा रङ्गशाला बनाउने बताउँदै सांसद बस्नेतले रु १६ करोडको लागतमा विस्तृत परियोजना प्रतिवेदन ९डिपिआर० बनाएर काम शुरु भएको बताउनुभयो ।

प्रदेश नं ३ का प्रदेश सदस्य डा राजेन्द्रमान श्रेष्ठ, शशीजंग थापा र सरस्वती बाटीले करको नाममा भ्रम फैलाउँदै फेरि सरकारमाथि प्रहार गर्न विरोधी सक्रिय रहेको बताउनुभयो । जिल्ला समन्वय समितिका प्रमुख नवराज गेलाल, नेकपाका जिल्ला अध्यक्ष वचन देउजा, सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापालगायतले विकासलाई कसैले अवरोध गर्न नहुने बताउँनुभयो ।

चाँगुनारायण नगरपालिकाका प्रमुख सोम मिश्रले ०७८ पुस महिनाभित्र चाँगुनारायणलाई पूर्ण सरसफाइयुक्त नगरपालिका घोषणा गर्ने बताउँदै प्रदेश नं ३ मै पहिलोपटक यस नगरपालिकाले सरसफाइ योजना सार्वजनिक गरेको दाबी गर्नुभयो । नगरपालिकाले कुनै पनि शीर्षकमा कर वृद्धि नगरेको उहाँले दाबी गर्नुभयो ।
रासस