कालीमाटीमा थेग्नै नसकिने चाप, तरकारी बजार विस्तार गर्ने सरकारका योजना अलपत्र

0
Shares

हेमन्त जोशी, काठमाडौं
काठमाडौं उपत्यकाको करिब ५० प्रतिशत तरकारी तथा फलफूलको माग धान्दै आएको कालीमाटी बजारको विकल्प खोज्न सरकार उदासिन रहेको छ ।

सीमित ठाउँमा उपभोक्ता र व्यवसायीको बढ्दो चापले अव्यवस्थित बन्दै गएको कालीमाटी बजार बिस्तार गर्ने विषयमा कृषि मन्त्रालय नै चासो देखाएको छैन । बजारलाई दुई वर्षभित्र थप तीन स्थानमा विस्तार गर्ने कृषि विकास मन्त्रालयको लक्ष्य भएपनि चोभारमा बाहेक अन्य दुई स्थानमा काम अगाडि बढ्न सकेको छैन ।

कृषि तथा पशुपन्क्षी मन्त्रालयका प्रवक्ता तथा कालीमाटी फलफँल तथा तरकारी बजार विकास समितिका अध्यक्ष तेजबहादुर सुवेदीका अनुसार काठमाडौंको चोभार, मनोहरा खोला किनार, बालाजु र धादिङको नौबिसेमा तरकारी बजार विस्तार गर्ने मन्त्रालयको लक्ष्य छ । तर हालसम्ममा चोभारमा बाहेक अन्य कुनैपनि स्थानमा सरकारले बजार निर्माणको काम अगाडि बढाएको छैन। चोभारमा बन्न लागेको बजार पनि तरकारी व्यापारका लागि नभई फलफँल र पुष्प व्यापारका लागि तयार पार्न लागिएको हो ।

कालीमाटी फलफँल तथा तरकारी बजार विकास समितिका कार्यकारी निर्देशक तेजेन्द्र पौडेलका अनुसार समितिले काठमाडौंको चोभार, बालाजु र धादिङको नौबिसेमा दुई वर्ष भित्र आधुनिक र व्यवस्थित बजार निर्माण गर्ने योजना बनाएको थियो । बालाजुमा तरकारी बजार विस्तारका लागि जग्गा उपलब्ध हुन नसकेको र नौबिसेमा निर्माणका लागि बजेट अभाव भएपछि चोभारमा मात्र काम अघि बढेको निर्देशक पौडेलको भनाई छ । नेपाल समाचारपत्रसँग कुरा गर्दै पौडेलले भन्नुभयो– ‘कालीमाटी बजारको शाखा विस्तारको कार्यलाई अघि बढाउन चोभारमा निर्माणको काम भईरहेको छ भने बालाजुमा जग्गा प्राप्तिका लागि हामीले पहल गरिरहेका छौँ ।’

‘कृषि बजारको पहिचान र विशेषता कायम गर्न चोभारमा बनिरहेको बजार फलफँल तथा पुष्प बजारमा केन्द्रित रहनेगरी, बालाजुमा मत्स्य तथा कृषि व्यवसायमा केन्द्रित रहनेगरी र नौबिसेमा कृिष बजार निर्माणका लागि योजना निर्माण गरिएको छ । तर हामीसँग यसको विस्तृत कार्ययोजना र बजेट भने छैन ।’– पौडेलले भन्नुभयो ।

नौबिसेमा कृषि उपज बजार निर्माणका लागि गत आर्थिक वर्षमा नै बजेट माग गरिएपनि कृषि मन्त्रालयबाट बजेट उपलब्ध गराइएन । त्यसपछि कालीमाटी फलफँल तथा तरकारी बजारको आन्तरिक बजेटमार्फत काम शुरु गर्ने तयारी गरिएको थियो ।

तर कालीमाटी बजार व्यवस्थापनका लागि रकम खर्च भएपछि नौबिसेमा बजार निर्माणका लागि रकम अभाव भएको निर्देशक पौडेलले बताउनुभयो । ‘नौबिसेमा सरकारी स्वामित्व रहेको साढे चार रोपनी जग्गामा आगामी आर्थिक वर्षभित्रै बजार निर्माण पँरा गर्ने समितिको लक्ष्य थियो । तर, उक्त बजार निर्माणका लागि हामीसँग पर्याप्त बजेट नै छैन ।’ –पौडेलले भन्नुभयो ।
बालाजुमा रहेको मत्स्य विकास निर्देशनालयको जग्गामा आधुनिक कृषि बजार विस्तारका लागि निर्देशनालयसँग छलफल जारी रहेको पौडेलको भनाई छ । ‘मत्स्य अनुसन्धान केन्द्रलाई तराईको क्षेत्रमा स्थानान्तरण गरेर मत्स्य तथा कृषि बजार निर्माण गर्ने गरी बजार स्थापना गर्ने हाम्रो सोच थियो । तर, सो विषय पनि अहिले अलपत्रजस्तै छ ।’ उहाँले भन्नुभयो ।

काठमाडौं र भक्तपुर जिल्ला छुट्याउने मनोहरा खोलामा रहेको कृषि मन्त्रालयको जग्गा भने सुकुम्बासीले कब्जा गरेर बसेका छन् । सुकुम्बारी टहरी हटाएर तरकारी बजार बिस्तारका लागि कृषि मन्त्रालयले नै पहल गर्न सकेको देखिदैन । चोभारमा कुल ३७ करोड रुपियाँको लागतमा बजारको भौतिक संरचना निर्माणको क्रममा रहेको छ। २३ रोपनी सरकारी जग्गामा निर्माण हुन लागेको बजार अबको एक बर्षभित्र निर्माण पँरा गर्ने लक्ष्य राखिएको छ । बाहिरी चक्रपथ निर्माणसँगै बजार पनि विस्तार हुने भएकाले व्यवसायी र उपभोक्तालाई बजार पहुँचमा यसले सहजला ल्याउने देखिन्छ ।

स्थान अभावका कारण उपभोक्ता र बिक्रेतालाई अप्ठ्यारो हुँदै आएको छ । कालीमाटी बजारको आन्तरिक व्यवस्थापन गर्ने विषयमा समिति उदासिन देखिएको छ । करिब दुई दशक अघि निर्माण भएको भौतिक संरचनाले दैनिकजसो बढीरहेका व्यवसायी र ग्राहकलाई धान्न मुश्किल हुँदै आएको छ। कालीमाटी तरकारी बजारको भौतिक संरचनालाई एकीकृतरूपमा पुनर्निर्माण गर्नेे र त्यहाँ भित्र रहेका स्टलको व्यवस्थापन हालसम्म किन हुन सकेन भनेर समितिसँग कुनै जवाफ छैन ।

कालीमाटी फलफँल तथा तरकारी बजारले उपभोक्ताको चापलाई धान्न नसक्ने भएको तथा उपभोक्ता र व्यवसायीको सहजतालाई ध्यानमा राख्दै शाखा विस्तार गर्नु जरुरी देखिन्छ । अन्य ठाउँमा आधुनिक र व्यवस्थित कृषि बजार स्थापना गर्दा कालीमाटी बजारमा चाप कम हुने छ ।व्यवसायी तथा उपभोक्ता दुवैलाई सजिलो हुने भएपनि त्यस्ता बजार स्थापनाका लागि सम्बन्धित निकायले भने कुनै चासो देखाएका छैनन् ।

कृषि मन्त्रालयले भने सबै बजार आगामी आर्थिक वर्षको अन्तिमसम्म निर्माण भइसक्ने गरी योजना बनाइएको थियो । तर चोभारमा बाहेक अन्य ठाउँमा बजार निर्माणका काम योजना निर्माणको प्रारम्भिक चरण मै अल्झिएपछि मन्त्रालय पनि कामबाट पन्छिएको देखिएको छ ।