रोनाल्डो परे, मेसी परेनन्


लन्डन, (एजेन्सी)
यूइएफए प्लेयर अफ द इयर अवार्डको शिर्ष तीनभित्र क्रिस्टियानो रोनाल्डो परेका छन् ।

उनी लिभरपुलबाट खेल्ने इजिप्टका मोहमद सलाह र रियलबाट खेल्ने क्रोएशियाका लुका मोड्रिचसँगै उत्कृष्ट तीन भित्र परेका हुन् । सिजन २०१७–१८ को अवार्डका लागि सार्वजनिक गरिएको शीर्ष तीनको सूचीमा लियोनल मेसी भने परेनन् । उक्त मनोनयनमा बार्सिलोनाका कप्तान मेसी पाँचौ स्थानमा परेका छन् ।

विगत केहि सिजनयता प्रदर्शन खस्केपनि मेसी उत्कृष्ट खेलाडीको शीर्ष ३ सुचिमा भने पर्दै आएका थिए । गत सिजन बार्सिलोना अन्तिम ८ बाट रोमासँग पराजित हुँदै बाहिरिएको थियो ।

यसपटक भने उनलाई चार खेलाडीले उछिन्दै शीर्ष ३ बाट बाहिर धकेलेका छन् । मेसी चौथो स्थानका एट्लेटिको मेड्रिडका एन्टोइन ग्रिज्म्यानपछि छन् । गत जिनमा लिभरपुललाई च्याम्पियन्स लिगको उपविजेता बनाउन महत्वपूर्ण भूमिका खेलेका सलाह यो सूचीमा अटाएका छन् । सलाहले गत सिजन लिभरपुलबाट ४४ गोल गरेका थिए । यस्तै रोनाल्डो र मोड्रिचले गत सिजन रियल मेड्रिडलाई च्याम्पियन्स लिगको उपाधि जिताउन नेतृत्वदायी भूमिका खेलेका थिए ।

रोनाल्डोले करियरको पाँचौ च्याम्पियन्स लिगको उपाधि जितेका थिए । रियल मेड्रिडबाट उनले लगातार तेस्रो र समग्रमा चौथो उपाधि रोनाल्डोले जितेका थिए । मोड्रिचले पनि गत सिजत उत्कृष्ट खेल्दै रियलबाट लगातार तेस्रो च्याम्पियन्स लिग जितेका थिए र रसिया विश्वकपमा उत्कृष्ट प्रर्दशन गर्दै गोल्डेन बल जितेका थिए ।

खेलाडी छनोट अघिल्लो वर्ष घरेलु लिग, कन्टिनेन्टल र अन्तराष्ट्रिय स्तरमा खेलाडीले गरेको प्रदर्शनलाई आधार मान्दै च्याम्पियन्स लिग र युरोपा लिगका विभिन्न ८० प्रशिक्षक र युरोपियन स्पोर्टस् मिडिया (इएसएम) गु्रपका ५० जना खेल पत्रकारले गरेका हुन् । यूईएफ बर्ष खेलाडीको घोषणा भने ३० अगस्टमा च्याम्पियन्स लिग गु्रप स्टेज ड्र घोषणा गर्ने कार्यक्रममा गरिनेछ ।