भारतद्वारा इंग्ल्यान्डलाई विशाल लक्ष्य


लन्डन, (एजेन्सी)
भारतले इंग्ल्यान्डमा भइरहेको तेस्रो टेस्टमा घरेलु टोलीलाई ५ सय २१ रनको विशाल लक्ष्य दिएको छ ।

अघिल्ला दुई टेस्ट हारेर पाँच खेलको टेस्ट सिरिजमा २–० ले पछाडि परेको भारतले यो टेस्ट जित्ने छनक देखाएको छ । चौथो दिन इंग्ल्यान्डका चार विकेट भारतले ६२ रनका लागि लिइसकेको थियो । तर बेन स्टोक्स र जोस बटलरले पाँचौं विकेटका लागि लामो साझेदारी गर्दैछन् । यसले भारतलाई सिरिजमा फर्कन ढिलो हुने पनि संकेत बनेको छ ।

यो समाचार तयार गर्दासम्म इंग्ल्यान्डले ४ विकेटको क्षतिमा २ सय २० रन बनाएको छ । जसमा बटलर १ सय ४ रनमा र स्टोक्स ५२ रनमा रहेर इंग्ल्यान्डलाई हारबाट जोगाउन कोसिस गरिरहेका छन् । २१ चौका प्रहार गरेका बटलरको टेस्ट करियरमा पहिलो सतक पनि हो ।

यसअघि भारतले ७ विकेटको नोक्सानमा ३ सय ५२ रनमा दोस्रो इनिङको समाप्ति भएको घोषणा गरेको थियो । जसमा भारतीय कप्तान विराट कोहलीले २३औं टेस्ट सतक प्रहार गरेका थिए । उनी व्यक्तिगत १ सय ३ रनमा आउट भएका थिए । जबकी उनी पहिलो इनिङमा ३ रनले सतकबाट चुकेका थिए । भारतका लागि सिरिजमा २–१ को स्थिति गर्न ६ विकेटको आवश्यक रहेको छ ।