नेपाल बन्यो टीम च्याम्पियन


काठमाडौं, (नेस)
भारतमा भएको अन्तर्राष्ट्रिय कराँते प्रतियोगितामा २१ स्वर्ण पदक हात पार्दै नेपाल टीम च्याम्पियन बनेको छ ।

भारतको कर्नाटक राज्यको सिभागोमा जिल्लाको नेहरु इन्डोर स्टेडियममा भदौं १ देखि ३ गतेसम्म सञ्चालन भएको सो प्रतियोगितामा नेपालका २० खेलाडी सहभागी भएका थिए ।

अमेरिका, भारत, नेपाल, बंगालादेश, मलेसियासहितका विभिन्न राष्ट्रका खेलाडीबीच प्रतिस्पर्धा नेपालले २१ स्वर्ण, १३ रजत र १० कांस्य पदक हात पारेको थियो । सो प्रतिष्पर्धामा नेपालका बुद्धबहादुर तामाङ, तारा तामाङ, इच्छा राई, मनिस मगर, सन्जु तामाङ र अप्सरा मगरले २÷२ स्वर्ण पदक हासिल गरेका थिए ।

त्यसैगरी रञ्जनकुमार सापकोटा, चन्द्रबहादुर भुजेल, शिखा बजगाई, सुहाना कार्की, सुयोग सिग्देल र श्याम तामाङले १÷१ स्वर्ण पदक प्राप्त गरे ।
सेकेन्ड इन्टरनेशनल पिपुल्स ओलम्पिक खेलमा सहभागी नेपाली खेलाडीमध्ये दौडतर्फ १ सय मिटरमा तारा तामाङ र रञ्जनकुमार सापकोटाले स्वर्ण पदक जितेका थिए । त्यसैगरी २ सय मिटर दौडमा बुद्धबहादुर तामाङ र भरत मगरले र कल्चरतर्फ सन्जु तामाङले स्वर्ण पदक जिते ।

तोयाकान नेपाल बादोरिया कराँते डो संघको संयोजनमा संघका वरिष्ठ तथा प्रमुख प्रशिक्षक अरुणकुमार कार्कीको नेतृत्वमा २० जना खेलाडी र ४ जना अफिसियल रेफ्रीहरु अजय भक्त श्रेष्ठ, मनिस तामाङ, केशर सुब्बा र रञ्जन सापकोटा सहभागी बनेका थिए ।