कीर्तिमानमा सुधार तर पुछारमा


नेपाल समाचारपत्र, काठमाडौं
इन्डोनेसियामा जारी १८औं एसियाली खेलकुदअन्तर्गत महिला भारोत्तोलनतर्फ नेपालकी सन्जु चौधरीले तीन नयाँ राष्ट्रिय कीर्तिमान रचेपनि पुछारमा रहेर चित्त बुझाएकी छन् ।

सन्जुले ५३ केजी तौल समूहमा स्नाच र क्लिन एन्ड जर्कमा १÷ केजी बढी तथा कूलमा दुई केजी बढी तौल उठाएर आफ्नै नाममा रहेको कीर्तिमानमा सुधार गरेकी हुन् । तर उनी १२ खेलाडीको प्रतिस्पर्धा भएको उक्त इभेन्टमा अन्तिम स्थानमा रहिन् ।

सन्जुले जेठमा नेपालगन्जमा भएको एसियाली खेलकुदको छनोटमा स्नाचमा ७१ केजी, क्लिन एन्ड जर्कमा ८५ केजी गरी कूलमा १ सय ५६ केजी भार उठाएर राष्ट्रिय कीर्तिमान रचेकी थिइन् । मंगलबार यी सबैमा क्रमशः ७२ केजी, ८६ केजी र १ सय ५८ केजी को नयाँ कीर्तिमान उनले बनाइन् ।
तेक्वान्दोमा पदकविहीन

तेक्वान्दोमा नेपालले पदक जित्ने आस गरेकै हुन्छ । एसियाली खेलकुदमा तेक्वान्दोले नै नेपाललाई धेरै पदक दिलाएको पनि छ । नेपालले सोलमा सम्प्न्न १९८६ को एसियाली खेलकुददेखि तेक्वान्दोमा पदक जित्न शुरु गरेको हो ।

यही मात्र होइन यही एसियाली खेलकुददेखि नै नेपालले पहिलो पटक पदक जितेको हो । यसैले पनि तेक्वान्दोमा पदक जित्ने आस त हुने नै भयो । पछिल्ला दुई एसियाली खेलकुद मा नेपालले तेक्वान्दोमा पदक जित्न सकेको छैन । हाल इन्डोनेसियामा जारी एसियाली खेलकुदमा पनि नेपालका तेक्वान्दो खेलाडीहरुले पदक जित्ने सुरसार गर्न सकिरहेका छैनन् ।

शनिबारदेखि शुरु भएको जकार्ता एसियाली खेलकुदको चौथो दिनमा आएर पनि नेपाली तेक्वान्दोले राम्रो नतिजा निकाल्न सकिएन । मंगलबार पुरुषतर्फ एक र महिलातर्फ दुई खेलाडीले प्रतिस्पर्धा गरे ।

जसमा महिला ५७ केजीमुनि ज्ञानी चुनारा क्वार्टरफाइनलमै पराजित भइन् । फिलिपिन्सकी लोपेज पाउलिन लोइसले ज्ञानीलाई २०–० को फराकिलो अंकले हराइन् । यसअघि पहिलो चरणमा भुटानकी छोडेन किन्जाङलाई २८–६ को ठूलो जित हात पारेकी उनी लोपेजसँग हारेपछि नेपालको पदकको आस तुहियो ।

यसैगरी महिला ६७ कजीमाथि ओलम्पियन निशा रावलले प्रतिस्पर्धा गरेकी हुन् । निशालाई पदक जित्ने खेलाडीको रुपमा हेरिएको थियो । तर त्यसमा निशा सफल भइनन् । निशालाई पहिलो चरणमै चीनकी गाउ पानले २२–६ ले हराइन् । यस्तै पुरुष ८० केजीमाथि अनोज पुजारी पनि पहिलो चरणमै सीमित भएका छन् । काजकिस्तानका जापारोभ रुस्लानले उनलाई २१–० ले माथ खुवाउँदै अंकविहीन नै बनाइदिएका थिए । अब तेक्वान्दोमा नेपालका लागि भुपेन्द्र श्रेष्ठ (८० केजीमुनि) र वीरबहादुर महरा (६३ केजी मुनि) प्रतिस्पर्धा गर्न बचेका छन् ।

पौडी
जकार्ता एसियाडअन्तर्गत नेपालका पौडीबाज शिरीष गुरुङले पुरुष ५० मिटर फ्रिस्टायलमा ४६ औं स्थानमा चित्त बुझाए । ५१ खेलाडी सहभागी उक्त इभेन्टमा शिरीषले निर्धारित दूरी २६.३३ सेकेन्डमा पूरा गरे । ७ खेलाडीले भाग लिएको दोश्रो हिटमा भने शिरीष तेश्रो स्थानमा रहे ।

कबड्डी
एसियाली खेलकुदअन्तर्गत कबड्डीमा नेपालको पुरुष टोलीले दोस्रो हार बेहोरेको छ । समूह बी अन्तर्गत पहिलो खेलमा इन्डोनेसियासँग हारेको नेपाल जापानसँग ३१–२८ ले पराजित भयो ।

पाराग्लाइडिङ
यस्तै पाराग्लाइडिङतर्फ नेपालका विजय गौतम पाँचौ चरणको खेल समाप्ति हुँदा १४औं स्थानमा रहेका छन् । ६ चरणमा अब एक चरण बाँकी रहेको छ । यस्तै ३३ प्रतिस्पर्धी भएको सो खेलमा सुशील गुरुङ २५औं स्थानमा छन् ।

उसु
उसुमा पनि लुमन्ती श्रेष्ठ बाइ पाएर क्वार्टरफाइनल पुगेपछि पदक आस गरिएको थियो । तर क्वार्टरफाइनलको पहिलो चरणमै उनको चुनौती समाप्त भयो । उनलाई थाइल्यान्डकी सुचया बुयालुङले पराजित गरेकी थिइन् ।