आफुले पाएको बैठक भत्ता सामाजिक काममा


धनवीर दाहाल, रुकुम ।
जनप्रतिनिधिले भने जनताको अपेक्षा अनुसार काम नगरेको, जथाभावी रुपमा कर बढाएको भन्दै आलोचना भइरहेको बेला रुकुममा भने जनप्रतिनिधिले आफुले पाएको बैठक भत्ता समेत सामाजिक काममा लगाउन थालेका छन् । मुसिकोट नगरपालिका वडा नं १० का वडा सदस्य धनबहादुर खड्का, बाँफिकोट गाँउपालिका ३ का वडा अध्यक्ष चन्द्रबहादुर के.सी लगाएतका केही जनप्रतिनिधिले आफुले पाएको बैठक भत्ता रकम बिरामीलाई दिने निर्णय गरेसँगै रुकुम पश्चिमको बाँफिकोट गाँउपालिका की कार्यपालिका सदस्य सिता खड्का के.सीले आफुले पाएको बैठक भत्ताबाट एक बिद्यालयलाई फर्निचर लगाएतका सामाग्री उपलब्ध गराउनुभएको छ ।
उहाँले केसीले ५३ हजार बढी मूल्यका फर्निचर लगायतका सामग्री एउटा विद्यालयलाई हस्तान्तरण गर्नुभएको छ । केसीले कार्यपालिका बैठक, तालिम तथा गोष्ठिबाट आएको भत्ताबाट बाँफीकोट गाँउपालिका –४, छिनखेतको चन्द्रज्योती आधारभुत विद्यालयका लागि ५३ हजार चार सयका फर्निचर लगायतका सामग्री सहयोग गर्नुभएको हो ।

कार्यपालिका सदस्य केसीले विद्यालयका १३ सेट डेस्क बेञ्च, ४ वटा ह्वाइट बोर्ड, एक सेट व्याण्ड बाजा, ७ वटा चार्ट र राष्ट्रिय झण्डा सहयोग गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धिरेन्द्र शाहीले बताउनुभयो । विद्यालयलाई आवश्यक फर्निचर खरिद गरेर सदस्य केसीले उपलब्ध गराएको अध्यक्ष शाहीले बताउनुभयो । आर्थिक अभावमा रहेको विद्यालयलाई आवश्यक सामग्री उपलब्ध गराइदिएकोमा विद्यालयले सदस्य केसीले धन्यवाद दिएको छ । प्रध्यानाध्यापक सुनिता शाही मल्लले केसीको कारण विद्यालयको ठूलो आवश्यक्ता पूर्ति गरिदिएको बताउनुभयो । विद्यालयको आवश्यक्ताको आधारमा फर्निचर लगायतका सामग्री खरिद गरेर दिएको केसीले बताउनुभयो । थोरै भएपनि विद्यालयको विकासका लागि सहयोग गरेको उहाँले बताउनुभयो ।