फ्याक्टस र सेजन बीच स्व.सञ्जय न्यौपाने आर्थिक अनुसन्धान फेलोशिप सम्झौता


काठमाडौँ ।
नेपाल आर्थिक पत्रकार समाज (सेजन) र फ्याक्ट रिसर्च एण्ड एनालिटिक्स रिसर्च कम्पनीबीच ‘स्व. सञ्जय न्यौपाने आर्थिक अनुसन्धान फेलोशिप’ सम्झौता भएको छ । आर्थिक अनुसन्धान तथा तथ्यगत समाचारलाई प्रवर्द्धन गर्न सेजन सदस्यलाई फेलोसिप उपलब्ध गराउने सम्झौंता गरिएको हो ।
सेजनका पूर्व उपाध्यक्ष समेत रहनु भएका स्वर्गीय सञ्जय न्यौपानेको सम्झनामा स्थापना भएको फेलोशिप सम्झौतामा सोमबार काठमाडौंमा भएको एक कार्यक्रमका बीच सेजनका अध्यक्ष पुष्पराज आचार्य र कम्पनीका महाप्रवन्धक मनिष झा ले हस्ताक्षर गर्नु भयो ।
फेलोसिपका लागि सुरुवातामा कम्पनीले वार्षिक ५० हजार रुपियाँ सेजनलाई उपलब्ध गराउने छ, भने प्रत्येक वर्ष १० प्रतिशत रकम वृद्धि गरिने उल्लेख गरिएको छ । कम्पनीका महाप्रवन्धक मनिष झा ले पत्रकार न्यौपानेले अनुसन्धानमा देखाउने चासोलाइ कदर गर्दै फेलोशिप दिन थालिएको बताउनु भयो । ’ तथ्यमा आधारित पत्रकारीतालाई प्रवर्द्धन गर्न लागि हरेक वर्ष सेजन सदस्यमध्ये एक जनलाई फेलोशिप दिइने छ’ झाले भन्नु भयो ।
यो फेलोशिप हरेक वर्ष सेजन स्थापना दिवसको अवसर पारेर वितरण गरिनेछ । फेलोशिपका लागि सेजनका पूर्व अध्यक्ष, कम्पनीका महाप्रबन्धक तथा सेजनका अध्यक्ष अथवा कार्य समितिबाट अध्यक्षले तोकेका व्यक्ति रहने गरी एक मूल्यांकन समिति गठन गर्ने व्यवस्था गरिएको छ ।