नगरप्रमुखद्धारा आफ्नो तलब भत्ताबाट विपन्न विद्यार्थीलाई सहयोग


नेपाल समाचारपत्र, पर्वत ।
कुश्मा नगरपालिकाका नगरप्रमुख रामचन्द्र जोशीले आफ्नो तलब भत्ताबाट विपन्न परिवारलाई सहयोग गर्न थाल्नुभएको छ ।
नगर प्रमुख भएवापत राज्यले दिने सेवा सुविधा सामाजिक सेवामा लगाउने घोषणा गर्नुभएका जोशीले लब भत्ताको रकमले सहयोग प्रदान गर्न थाल्नुभएको हो ।
नगरप्रमुख जोशीले ‘राजनीति जनताका लागि गर्ने हो पैसा कमाउनका लागि होइन’ भन्ने उदाहरण देखाउँदै आफ्नो सवै तलब भत्ता जनतालाई बाड्न थालेको बताउनुभयो । उहाँले कुश्मा नगरपालिका स्थित जगदम्बा प्राविका २६ जना विद्यार्थीलाई विद्यालय पोषाक प्रदान गरेर आफ्नो सामाजिक कार्यको शुरुवात गर्नुभएको थियो । जोशीले आइतबार पनि कुश्मा नगरपालिका वडा नं. ४ मा रहेको नारायण माविका एक छात्रलाई बार्षिक रुपमा चाहिने शैक्षिक सामाग्रि र पोशाक वितरण गर्नुभएको छ ।
आर्थिक अवस्था विपन्न भएका परिवारलाई सहयोग गर्ने उद्देश्य आफूले लिएको बताउँदै जोशीले आफ्नो तलब रकम सवै जनताकै करको रकम भएकाले जनतालाई नै सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
‘सामाजिक कार्यबाट नै राजनैतिक भविश्य उज्वल हुने देखेको छु’ उहाँले भन्नुभयोे–‘पैसा कमाउन अन्य कुनै ब्यवसाय गर्न सकिन्छ ।’ राजनीति भनेकै जनताको सेवा ठाउँ रहेको भन्दै जोशीले आफ्नो तलब भत्ता र पारिश्रमिक वापतको रकम जनतालाई वितरण गर्ने बताउनुभयो ।
नगर क्षेत्रमा रहेका विपन्न, गरिब र असाह्यलाई पहिलो प्राथमिकतामा राखेर सहयोग प्रदान कार्यमा उहाँ सहभागी हुनुभएको छ । गत आर्थिक बर्षमा नगरपालिकाबाट प्राप्त भएको सवै रकम उहाँले विभिन्न क्षेत्रमा सवै सहयोग गर्ने यस अघि नै घोषणा गर्नुभएको थियो ।
करका दायरा बढ्दै जाँदा यतिबेला करको विरोध भईरहेको छ । प्रदेश सरकारले स्थानीय तहले उठाएको करबाट नै स्थानीय जनप्रतिनिधिहरुको पारिश्रमिको ब्यवस्थापन गर्ने निर्णय यस अघि नै गरिसकेको छ । नगरपालिकाका प्रमुखको मासिक रु ३५ हजार तलब प्रदेश सरकारले तोकेसँंगै करका दायराहरुमा समेत स्थानीय तहहरुले बृद्धि गरिरहेको अवस्थामा कुश्मा नगरपालिकाले कर नबढाउने जनाएको छ ।