माग अनुसार सुन नपाएको भन्दै पसल बन्द


चितवन ।
नेपाल सुनचाँदी व्यवसायी संघ चितवनले आजदेखि जिल्लाका सबै सुनचाँदी पसल बन्द गराएको छ । माग बमोजिम सुन नपाएपछि संघ आन्दोलनमा उत्रिएको हो । संघले विरोध स्वरुप आज (मंगलबार) चितवनका सबै सुनचाँदी पसल बन्द गरेको छ । आन्दोलनको कार्यक्रम अनुसार भोली (बुधबार) पनि पसल बन्द रहने संघका अध्यक्ष जीवनज्योति सदाशंकरले जानकारी दिए ।

संघले सोमबार अपरान्ह पत्रकार सम्मेलन गरी राज्यलाई आफूहरुको माग बारे दवाब दिन दुई दिन पसल बन्द गर्ने निर्णय भएको जानकारी दिएको थियो । संघका अध्यक्ष सदाशंकरले सरकारसंग पटक–पटक माग बमोजिम सुन उपलब्ध गराउन आग्रह गरिएपनि कुनै सुनुवाई नभएपछि बाध्य भएर आन्दोलनमा उत्रिनु परेको बताए । उनले चाँडबाडको बेला सुनको माग झनै बढेकोले सरकारलाई दवाब स्वरुप पसल बन्द गरिएको बताए । उनले प्रयाप्त मात्रामा सुन नआएकोले ग्राहकहरुलाई उपलब्ध गराउन सक्ने अवस्था नरहेको बताए । “माग बढ्दो छ, ग्राहकलाई मागेजति सुन उपलब्ध गराउन सकेका छैनौं”–अध्यक्ष सदाशंकरले भने । उनले बजारबाटै खरिद भएका सुनचाँदीबाट केही मात्रामा भएपनि बजार धान्ने गरेको बताए ।

व्यवसायीहरुले नेपाल राष्ट्र बैंकको सिण्डिकेटका कारण यो समस्या आएको आरोप लगाएका छन् । राष्ट्र बैंकले चितवनमा सातामा २ केजी मात्रै सुन उपलब्ध गराउने गरेको छ । तर यहाँको माग ५ केजीसम्म भएकोले बजारमा सुन अभाव भएको अध्यक्ष सदाशंकरको भनाई छ । सबै भन्दा बढि काठमाडौं उपत्यका बाहिरका सुनचाँदी व्यवसायीहरु यसको मारमा परेका छन् । काठमाडौंमा राष्ट्र बैंकले ६५ प्रति सुन काठमाडौंमा र बाँकी उपत्यका बाहिर पठाउने गरेको छ । साताको दुई केजीले पुरै चितवनको सुनचाँदी बजार धान्नुपर्ने अवस्था आएकोले समस्या सिर्जना भएको युवा उद्योगी व्यवसयी रुविन रामदामु बताउँछन् । “सुनचाँदी किन्न आउने ग्राहकहरुलाई रित्तो हात फर्काउनु पर्ने अवस्था आएको छ, चाँडबाडको बेला यस्तो समस्याले सबैलाई कठिन बनाएको छ”–रामुदामुले भने ।

सुनचाँदी व्यवसायी ज्ञानेन्द्रमान शाक्यले राष्ट्र बैंकको सिण्डिकेट नतोडिएसम्म यो समस्या जारी रहने बताए । उनले भने–“राष्ट्र बैंकको सिण्डिकेटले सारा सुनचाँदी व्यवसायी मारमा परेका छन्, सरकारले यस तर्फ सोच्नु पर्छ ।” चितवनमा करिव ५ सय सुनचाँदी पसलहरु रहेका छन् ।