उपमहानगरपालिकाले जनप्रतिनिधिका लागि गाडी खरिद गर्ने निर्णयको विरोध


गोकुल घोरसाइने, बारा ।
बाराको जितपुरसिमरा उपमहानगरपालिकाले जनप्रतिनिधिहरुले प्रयोग गर्ने प्रयोजनको लागि सवारी साधन खरिद गर्ने निर्णयको सर्बत्र बिरोध शुरु भएको छ । नगरपालिकाले उपमेयर सहित वडाध्यक्ष र कार्यपालिका सदस्यहरु गरी ३४ जनाका लागि सवारी साधन खरिद गर्ने निर्णय गरेपछि विरोध शुरु भएको हो । नगरपालिकाले उपमेयर सरस्वती चौधरीका लागि झण्डै ५० लाख रुपैया मुल्य बराबरको स्कार्पियो र वडाध्यक्ष तथा कार्यपालिका सदस्यहरुका लागि २ लाख ५४ हजार मुल्य बराबरको मोटरसाईकल खरिद गर्ने निर्णय गरेको छ ।
जीतपुरसिमरा उपमहानगरपालिका वडा नं ६ का वडाध्यक्ष कैयमुदिन अन्सारीले नगरपालिकाले उपमेयर वडाध्यक्ष तथा कार्यपालिका सदस्यहरुका लागि स्र्करपीयो र मोटरसाईकल गरिद गर्ने निर्णय भईसकेको भएपनि कुन कम्पनिको सवारी साधन खरिद गर्ने भन्ने टुंगो नलागेको बताउनुभएको छ । साथै मोटरसाईकल खरिदका लागि आवश्यक टेन्डर प्रक्रिया छिटै शुरु गरिने जानकारी आफुले पाएको वडाध्यक्ष अन्सारीले जनाउनुभयो ।
उपमेयर, वडाध्यक्ष र कार्यपालिका सदस्यहरुका लागि ठुलो रकम खर्चेर सवारी साधन खरिद गर्ने लागेको भन्दै केही कार्यपालिका सदस्य र नगर सभा सदस्यहरुले समेत असन्तुष्टी जनाएका छन । वडा नम्बर ४ का अध्यक्ष इश्वर खत्रीले जनप्रतिनिधिहरुलाई गाडी सुविधा दिने निर्णयमा आफनो असहमति रहेको र नगरपालिकाले दिने मोटरसाइकल पनि नलिने बताउनु भयो । ‘जनताको भावना विपरित सुविधा लिनु ठिक होइन खत्रीले भन्नुभयो, यस्तो कार्यले जनप्रतिनिधिहरुको बदनाम गर्छ ।’ वडा नं १५ का वडा सदस्य राजन भट्टराईले पनि नगरपालिकाले गरेको गाडी खरिद गर्ने निर्णय कार्यन्वयनमा आए आफुहरु विरोधमा उत्रने बताउनुभएको छ । उहाले प्रतिनिधिहरु जनताको सेवामा भन्दा आफनो सुविधामा बढी केन्द्रीत हुनु राम्रो नभएको बताउनुभयो । सवारी साधन खरिद गर्ने निर्णयको सत्ताधारी नेकपा र प्रमुख प्रतिपक्ष नेपाली काग्रेशका स्थानीय कार्यकर्ताबाट र सर्वसाधारणबाट पनि विरोध भएको छ । उपमेयर सहित वडाध्यक्ष र कार्यपालिका सदस्यहरुका लागि सवारी साधन खरिद गरेमा करोडौ रकम खर्च हुने नगरको विकास प्रभावित हुने भन्दै विरोध भएको हो । नगर क्षेत्रभित्र ग्रामिण भेगका बाटोघाटो वर्षाले हिलाम्बे भएर आवात जावत गर्न समस्या भइरहेको बेला जनप्रतिनिधिहरु भने जनताको समस्या समाधान गर्न तर्फ भन्दा सुविधा भोगमा लिप्त उनीहरुको आरोप छ ।
मान्छे जिवित रहेको सिफारिसमा शुल्क
देशका विभिन्न जिल्लामा रहेका स्थानीय तहहरुले लगाएको करको बिषयमा चर्का आलोचना भइरहँदो जितपुरसिमरा उपमहानगरपालिकाले मान्छे जीवित रहेको सिफारिस गर्न पनि शुल्क लिन थालेको छ । उपमहानगरपालिकाले व्यक्ति जीवित रहेको व्यहोराको प्रमाणितको सिफारिस गर्न एक सय रुपैयाँ शुल्क लगाएको छ । उपमहानगरपालिकाले जन्म र मृत्युदर्ताको लागि समेत शुल्क तोकेको छ । उपमहानगरपालिकाको नागरिक बडापत्रमा जन्मदर्ता र मृत्यु दर्ताको लागि दुई सय शुल्क तोकिएको उल्लेख रहेको छ । तर विवाह दर्ताको लागि भने उपमहानगरपालिकाले केवल ५० रुपैयाँ शुल्क लगाएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भने ३५ दिन भित्रमा जन्मदर्ता, मुत्युदर्तालगायतका व्यक्तिगत घटना दर्तामा कुनै शुल्क नलिन स्थानीय तहलाई निर्देशन दिएको छ । यो निर्देशनपछि देशका केही स्थानीय तहले निःशुल्क रुपमा व्यक्तिगत घटना दर्ता गरेका भए पनि बाराको जितपुर सिमरा उपमहानगरले भने शुल्क तोकेको छ ।