पहिरोको उच्च जोखिममा बैतडीका चार स्थानीय तह


विनोद सिंह विष्ट, बैतडी ।
बैतडीका ४ ओटा स्थानीय तहमा पहिरोको उच्च जोखिममा रहेका छन् । जिल्ला विपद् व्यवस्थापन समितिले तयार पारेको विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना अनुसार डिलाशैनी गाउँपालिका, दोगडाकेदार गाउँपालिका, पुरचौंडी नगरपालिका र मेलौली नगरपालिका पहिरोको उच्च जोखिममा रहेका छन् ।
विभिन्न प्रकोपको हिसाबले जिल्लाका अन्य स्थानीय तहमा जोखिम रहेको भएपनि चारओटा स्थानीय तहमा पहिरोको उच्च जोखिम रहेका बताइएको छ । मुख्य गरेर चारओटा स्थानीय तहमा पहिरोका जोखिम अन्य ठाउँको तुलनामा बढी रहेको विपद् व्यवस्थापन योजना निर्माणमा संलग्न पहल कार्यक्रमका संयोजक लालबहादुर महराले बताए ।

जिल्लामा विभिन्न किसिमका प्रकोपहरुको जोखिम रहेको र ती प्रकोपबाट हुने क्षति न्यूनीकरणका बिषयमा सम्वन्धित स्थानिय तहहरुसंग छलफल भएको प्रमुख जिल्ला अधिकारी चन्द्रप्रसाद गैह्रेले बताए । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन २०७४ अनुसार स्थानीय तहमा विपद् व्यवस्थापन समिति गठन गर्न आग्रह गरिएको छ उनले भने “स्थानीयस्तरमा विपद् व्यवस्थापन समिति गठन गरि कार्यान्वयनमा ल्याएमा प्रकोपका घटनाहरुबाट हुने क्षति न्यूनीकरण गर्न सकिन्छ ”
विभिन्न विपद्का घटनाहरुलाई न्यूनीकरण गर्नका लागि स्थानीय तहलाई बजेट छुट्याउन आग्रह गरिएको उनले बताए ।

जिल्लाको डिलाशैनी गाउँपालिकाको बांगाबगर,गोकुलेश्वर, रुद्रेश्वर पहिरोको उच्च जोखिममा छन् भने दोगडाकेदार गाउँपालिकाको सित्तड र न्वाली पहिरोको उच्च जोखिममा छन् । यस्तै जिल्लाको पुर्चाैंडी नगरपालिकाको मल्लादेही क्षेत्र र मेलौली नगरपालिकाको विशालपुर क्षेत्र पनि पहिरोको उच्च जोखिममा रहेको विपद् संयुक्त राष्ट्रसंघीय जनसंख्या कोषका जिल्ला कार्यक्रम अधिकृत गणेश शाहीले बताए।
जिल्लामा हुन सक्ने प्रकोपका घटनाबाट हुने क्षति न्यूनीकरणका लागि जिल्लास्तरमा तयारी भईरहेको जिल्ला प्रहरी कार्यालय प्रवक्ता एवं प्रहरी निरीक्षक कान्तिराज जोशीको भनाई रहेको छ ।

पहिरोको उच्च जोखिममा रहेका स्थानियहरुहरुले स्थानियस्तरवाट पहिरो नियन्त्रण गर्न नसकिने भएकोले प्रदेश सरकार र संघिय सरकारसंग माग गरिएको जनाएका छन् ।