बिशेषज्ञ सेवा नहुँदा भारतका निजी अस्पताल धाउनुपर्ने बाध्यता


विनोद सिंह विष्ट, बैतडी ।
जिल्ला अस्पताल बैतडीमा बिशेषज्ञ सेवा नहुँदा यहाँका नागरिकले भारतका निजी अस्पतालमा धाउनुपर्ने बाध्यता रहेको छ । सानो सानो किसिमको अप्रेशनका लागि समेत भारत धाउनुपर्ने बाध्यता रही आएको दोगडाकेदार गाउँपालिका २ बडियाका बिर वहादुर भाटले बताए । जिल्ला अस्पतालमा बिशेषज्ञ सेवा पाएका छैनौं उनले भने“सानो समस्या आउँदा समेत भारतीय निजी अस्पतालकै भर पर्नुपर्दछ”
जिल्ला अस्पतालमा बिशेषज्ञहरुको दरबन्दी नै नभएको र दरबन्दीका डाक्टर समेत जिल्ला अस्पतालमा पूर्ती नभएका जिल्ला स्वास्थ्य कार्यालय बैतडीका प्रमुख डा. जगदीशचन्द्र बिष्टले बताए । जिल्लामा एक जना नवौं तह र दुईजना आठौं तहका डाक्टरको दरबन्दी रहेको भएपनि अहिले एकजना मात्रै कार्यरत रहेका छन् । एकजना नवौं तह र एकजना आठौं तहको दरबन्दी खाली रहेको छ डाक्टर बिष्टले भने “ जिल्ला अस्पतालमा अहिले एकजना मात्रै छात्रवृति करारका डाक्टर कार्यरत छन् ,बिशेषज्ञ सेवा नहुँदा बाध्य भएर भारत रेफर गर्नुपरेको छ”
स्वास्थ्य सेवा विभागले छात्रवृति करारका डाक्टर पनि दुर्गम अस्पतालमा पठाउन सकेको छैन् । चाँडै उपचार गर्नुपर्ने, दुर्घटनाका बिरामीहरु लगायतलाई भारत रेफर गर्नुको विकल्प नरहेको डा.बिष्टले बताए । रेफरल सेन्टर कैलाली सेती अञ्चल अस्पताल र उपक्षेत्रीय अस्पताल डडेल्धुरा रहेको भएपनि टाढा भएकाले बिरामीहरु भारत जान रुचाउने गरेका छन् । तर भारतमा महंगो शुल्कमा निजी अस्पतालहरुमा उपचार गर्नुपर्ने बाध्यता रही आएको छ ।
यसैबिच जिल्ला अस्पताल बैतडीमा ६ बर्षदेखि सञ्चालनमा रहेको जटिलतायुक्त प्रसुती सेवा बन्द भएको छ । गएको ६ महिनादेखि जटिलतायुक्त प्रसुती सेवा बन्द हुँदा अप्रेशन गरेर बच्चा जन्माउनुपर्ने अवस्था आएका आमाहरु भारत तथा जिल्लाबाहिर जान बाध्य भएका छन् ।
अस्पतालमा कार्यरत एनेस्थेसिया असीस्टेन्टको दुई महिना अघि दुखद निधन भएकाले सेवा नै बन्द भएको जिल्ला स्वास्थ्य कार्यालय बैतडीका प्रमुख डा. जगदीशचन्द्र बिष्टले बताए ।
गएको ६ महिनायता अप्रेशन गरेर बच्चा जन्माउनुपर्ने अवस्था आएका आमाहरुलाई अन्यत्र रेफर गर्नुपरीरहेको जिल्ला अस्पताल बैतडीले जनाएको छ ।
केही महिना एनेस्थेसिया असीस्टेन्ट बिरामी परेका र दुई महिना अघि निधन भएकाले एनेस्थेसिया असीस्टेन्टको अभावमा जटिलयतायुक्त प्रसुती सेवा बन्द रहेको छ उनले भने “ जिल्ला अस्पतालमा एनेस्थेसिया असीस्टेन्टको व्यवस्थाका लागि स्वास्थ्य सेवा विभागलाई लिखित र मौखिक रुपमा जानकारी गराएको भएपनि अहिले सम्म कुनै पहल भएको छैन”