अष्ट्रियाका विदेशमन्त्रीको विवाहमा पुटिन नाचे


भियना (एजेन्सी)
रुसी राष्टपति भ्लादिमिर पुटिन विश्वकै शक्तिशाली नेताहरुमध्य चर्चित मानिन्छ । उनी आफना फरक फरक शैलीका कारण प्राय चर्चामा रहने गरेका छन् । कहिले जुडो खेलेर, कहिले घोडासवारी, कहिले जंगल सफारी जस्ता विभिन्न चर्तिकलाका उनका तस्विर बाहिर आएका छन् ।

अहिले राष्टपति पुटिन अष्ट्रियाकी विदेशमन्त्री कारिन निसलसँग नृत्यमा मग्न रहेको उनको तस्वीर अगाडी आएको छ । निसलको विवाहमा सहभागी हुन अष्ट्रिया पुगेका पुटिन समारोहमा उनीसँग नृत्य गरेकी थिइन् ।

उनी अष्ट्रियाको दक्षिण सहर ग्राजमा आयोजित उक्त विवाह समारोहमा सहभागी भएका थिए । निसललाई रुस समर्थक मानिने अष्ट्रियन फ्रिडम पार्टीले विदेशमन्त्रीको पदमा मनोनित गरेको हो ।

५३ बर्षिय निसलले ब्यापारी वाल्फगेंग मिलंगरसँग विवाह गरेकी हुन् । राष्टपतिका सल्लाहकार युरी उसाकोवले यसैवर्ष पुटिनो भियना भ्रमणको बेला निसलले उनलाई विवाहमा सहभागी हुन निमन्त्रण दिएको जानकारी दिएका थिए ।

यसैबीच पुटिनको यो भ्रमणलाई लिएर युरोपेली देश अष्ट्रियाका विपक्षी दल विदेशमन्त्रीमाथि आक्रमक बनेकाछन् । विपक्षी नेताहरुले पुटिनलाई निमन्त्रणा दिएर निसलले युरोपेली युनियनको विदेश नितिलाई बेवास्ता गर्ने काम गरेको आरोप लगाएका छन् । अष्ट्रिया जाने क्रममा पुटिन जर्मनी पनि गएका थिए र त्यहाँ उनले चान्सलर एन्जेला मर्केलसँग भेटवार्ता गरेका थिए ।