१७ करोड निकासा हुन बाँकी


क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष भीम वली डेढ महिनादेखि काठमाडौंमा बसिरहेका छन् । २०७४ सालमा निर्माण गरिएको भौतिक संरचनाको बजेट नै निकासा नभएपछि वलीले काठमाडौंमा धर्ना दिएका हुन् । आठौका लागि २०७४÷७५ का १३ वटा प्रोजेक्ट रहेका छन् । खेल नभएपनि आठौको नाममा एउटा प्रोजेक्ट परेको पाल्पासहित ६ जिल्लाका लागि ६६ करोडको भौतिक संरचना निर्माण भइरहेका छन् । अध्यक्ष वलीले २०७५ मा पैसाकोे कुनै समस्या नरहेको बताएका छन् ।

बाँकेमा १५ करोडको पौडी पोखरी बनिरहेको छ । बाँकेमै ६१ लाखको सुटिङ्गरेञ्ज बनिरहेको छ । भारोत्तोलनको भुइतलाको काम सकिएको छ । ८७ लाखको भारोत्तोलनको प्रोजेक्ट तल्ला थप्दै जादा एक करोडको लागतमा पुग्ने अधिकारीहरुले बताएका छन् । कभर्डहलको मर्मतका लागि ६० लाख रुपैया आउँदैछ । यसअघि ३१ लाखमा छानाको मर्मत गरिएको थियो ।

बाँकेको कोहलपुरमा क्रिकेट मैदानमा ९० लाखको काम भएको छ भने थप १० लाख रुपैया आउदैछ । २०७५ मा परेको दश लाख रुपैया अति नै कम भएको र थप रकम माग गरिने अध्यक्ष वलीले बताएका छन् । ‘अहिले निकासा भएको पैसाले हामीले क्रिकेट खेल्न मिल्ने गरी पिच बनाउँछौं, दायाबाया केही गर्दैनौ, —वलीले बताए ।

कारकादोको जुडो र खजुरामा शुक्र भलिबल स्टेडियमका लागि पनि रकम छुट्याइएको छ । सवा ६ करोडको भलिबल स्टेडियम बन्दै गर्दा ६० लाखको काम भइसकेको छ । दाङ्गको बेलझुण्डीमा २५ करोडको लागतमा रंगशाला निर्माण हुँदैछ । हालै सभामुख कृष्णबहादुर महराले त्यसको शिलान्यास गरेका थिए । लहमीमा क्रिकेट मैदान बनिरहेको छ । यहाँ २०७३ मा २० लाख, ७४ मा ४० र ७५ मा १५ लाख रुपैया छुट्याइएको छ ।

भैरहवामा एक करोडको लन टेनिस कोर्ट, कभर्डहल मर्मत गरिदैछ । रुपन्देहीमा ७७ लाखमा ब्याटमिन्टन कभर्डहल, कपिलबस्तुमा कुस्तीका लागि १५ लाखको संरचना बन्दैछ ।