इन्डोनेसियामा नेपाली खेलाडीको निरस प्रदर्शन


जकार्ता, (एजेन्सी)
इन्डोनेसियाको राजधानी सहर जाकार्तामा जारी १८औं एसियाली खेलकुदमा नेपालले सहभागिता भएका खेलमा नेपाली खेलाडीहरुको निरासजनक प्रदर्शन भइरहेको छ ।

पौडीमा आस गरिएकी महिला पौडी खेलाडी गौरिका सिंह हिट चरणबाटै बाहिरिइन् । दुई वर्ष अघि दक्षिण एसियाली खेलकुदमा सानदार प्रदर्शन गरेकी गौरिकाले जाकार्तामा राम्रो गर्न सकिनन् । १ सय मिटर फ्रिस्टाइल महिला इभेन्टमा उनी १८औं स्थानमा रहिन् । उनले सो दुरी १ मिनेट ००.८२ सेकेण्डमा पुरा गरेकी थिइन् ।

यसैगरी महिला पौडीमा नेपालको तर्फबाट सहभागिता भएकी टिसा शाक्य सोही इभेन्टमा २२औं स्थानमा रहेकी थिइन् । सो हिट चरणमा २७ खेलाडीले भाग लिएका थिए । टीसाले १ मिनेट ०३.९६ सेकेन्डमा दूरी पुरा गरेकी थिइन् ।

निमा ११औं स्थानमा
१२औं दक्षिण एसियाली खेलकुदमा नेपाललाई पहिलो स्वर्ण पदक दिलाएकी उसुकी निमा घर्तीमगर ११औं स्थानमा सीमित भएकी छिन् । १२ खेलाडी सहभागि भएको महिला नान् ताउमा निमाले ९.१७ अंक जोडेकी छिन् । यो उनको राष्ट्रिय कीर्तिमान अंक हो । पुरुष छान् छ्वानमा नेपालका युवराज थापा मगरले २३ खेलाडी प्रतिस्पर्धा गरेकोमा २१औ स्थान प्राप्त गरे । उनले ८.२२ अंक जोडेका थिए । यस्तै सान्सौं पुरुष ५६ केजीमा पदम ठकुल्ला लाओसका खेलाडीसंग पराजित भए ।

ब्याडमिन्टन
नेपालको पुरुष ब्याडमिन्टन टोलीले हारको सामना गरेको छ । क्वार्टरफाइनलमा पुरुष टिम इभेन्टतर्फ नेपाली टोली चाइनिज ताइपेईसँग ३–० ले हा¥यो । सिंगल्सतर्फ रत्नजित तामाङ, दिपेश धामी र नवीन श्रेष्ठ तीनै जनाले सोझो सेटमा ताइपेई खेलाडी सामु नतिजा सुम्पेका थिए ।

तेक्वान्दो
तेक्वान्दोतर्फ सागर गुभाजु पुरुष ५८ केजीमुनि गेरोगीअन्तर्गत क्वार्टरफाइनलमा रोकिए । नेपालका खेलाडी सागर भियतनामका खेलाडीसँग २५–५ अंकको अन्तरले हारेका थिए । महिलातर्फ ५३ केजीमुनि निमा गुरुङ लेबनानकी खेलाडीसँग २३–१० ले हार्दा अर्की नेपाली महिला खेलाडी संगीता बस्यालले ६७ केजीमुनि फिलिपिन्सकी खेलाडीसँग २०–१७ ले खेल गुमाइन् ।

सुटिङ
इन्डोनेसियामा नेपाली सुटिङ खेलाडीको चुनौती पनि समाप्त भएको छ । पुरुषतर्फ सुशे चौधरी ६ सय ५४ पूर्णाङ्कमा ५ सय ८१ अंक जोडेर ४२औैं स्थानमा रहेका थिए । सो स्पर्धामा विभिन्न देसका गरी ४४ खेलाडीले सहभागिता जनाएका थिए । महिला १० मिटर एयर राइफल इभेन्टमा कल्पना परियार र सुस्मिता नेपाल क्रमशः ४५औं र ४६औं स्थानमा रहे । सो इभेन्टमा कूल ४८ खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।

राणा दिदीबहिनी अन्तिम १६ मा
एसियाड टेनिसको महिला डबल्सतर्फ नेपालकी राणा दिदीबहीनी मायांका र माहिकाको जोडीले अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ । पालेम्वाङमा भएको खेलमा सो जोडीले माल्दिभ्सको जोडीलाई ६–४ र ६–१ को सोझो सेटमा हराएको थियो । आज उनीहरुको सामना जापानी खेलाडीसँग हुनेछ । पुरुष डबल्समा भने नेपालका संरक्षकभूषण वज्राचार्य र अभिषेक बाँस्तोलाको जोडी भारतीय जोडीसंग सहजै पराजित भएको छ ।