‘सेवा, सुबिधा र सुरक्षा दिन सके पर्यटकको संख्या बढाउन सकिन्छ’

0
Shares

नेपाल समाचारपत्र, भक्तपुर
सरकारले सन् २०२० सम्म २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्यका साथ योजना अघि सारी रहँदा पर्यटन क्षेत्रका सरोकारवाला ब्यक्तिहरुले सेवा, सुबिधा र सुरक्षा प्रदान गर्न सके पर्यटकको संख्या बढाउन सकिने बताएका छन् ।

पर्यटक प्रहरी ईकाई, भृकुटीमण्डपको आयोजनामा भक्तपुरमा आयोजित सरोकारवाला निकायबीचको अन्तरकृयात्मक अभिमुखीकरण कार्यक्रमका बत्ताहरुले आन्तरीक तथा बाह्य पर्यटकलाई सुरक्षित र सहज वातावरण सृजना गरी दिगो पर्यटन विकासमा सबै लाग्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले पर्यटन क्षेत्रमा क्रियाशिल पर्यटन व्यवसायी, स्थानीय प्रहरी लगायत पर्यटनसंग सम्बद्ध प्रतिनिधि,स्थानीय तह र संचारकर्मी सबैको समन्वय र सहकार्यले मात्र पर्यटन क्षेत्रको बिकास हुने बताउनुभयो ।

भक्तपुरमा आउने पर्यटकहरुको बढ्दो चापलाई मध्यनजर गर्दै पर्यटकहरुको सेवा, सुविधा र सुरक्षाका विविध विषयमा सबैले चासो र चिन्ता राख्नुपर्नेमा जोड दिंदै प्रमुख प्रजातिले पर्यटकलाई राम्रो ब्यबहार गर्न सके उनीहरु फेरी पनि घुम्न आउने धारणा राख्नुभयो ।

कार्यक्रममा महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख, प्रहरी उपरीक्षक हिमालयकुमार श्रेष्ठले नेपाल प्रहरी पर्यटकको सुरक्षाका लागि सँधै तयार रहेको बताउँदै सरोकारवाला सबैले आआफ्नो क्षेत्रबाट कर्तब्य र जिम्मेवारी पालना गर्न सके पर्यटन क्षेत्र सुरक्षित हुने उल्लेख गर्नुभयो ।

पर्यटनबिद् डा.आलोक प्रसाईंले जहाँ सुरक्षा छ ,त्यहाँ पर्यटन जाने आउने भएकाले पर्यटकका लागि अनुकुल वातावरण सृजना गरी पर्यटन क्षेत्रलाई उद्योग र रोजगारीसँग जोड्नुपर्ने बताउनुभयो । उहाँले नेपालमा रहेका ऐतिहासिक, सांस्कृतिक, धार्मिक, प्राकृतिक सम्पदा लगायत भाषा,संस्कृति र रीतिरीवाज पर्यटक तान्ने माध्यम भए पनि ती अझै प्रचार र पर्यटकको पर्खाईमा रहेको उल्लेख गर्नुभयो ।

कार्यक्रममा पर्यटक प्रहरी ईकाइ प्रमुख प्रहरी निरीक्षक रुपा थापाले भौतिक पुर्वाधार तयार भए पर्यटकलाई प्रहरी सम्बन्धि सबै सेवा भक्तपुर जिल्लाबाटै दिन सकिने बताउँदै पर्यटकको सुरक्षामा स्थानीय सरकार,नागरिक ,प्रहरी सबैको सहकार्य आवश्यक रहेको उल्लेख गर्नुभयो ।
भक्तपुर पर्यटन बिकास समितिका अध्यक्ष रामसुन्दर भेले, पर्यटक प्रहरी ईकाइका प्रहरी नायब निरीक्षकद्धय सन्तोष न्यौपाने र प्रकाश रेग्मीले पर्यटकलाई सुरक्षाको अनुभूति दिलाउन सरोकारवाला सबैको समन्वयात्मक भूमिका जरुरी रहेको बताउनुभयो ।