बेनी–जोमसोम सडक एक हप्तापछि सञ्चालन


म्याग्दी ।
म्याग्दीको उत्तरी क्षेत्र हुँदै हिमाली पर्यटकीय जिल्ला मुस्ताङलाई जोड्ने बेनी–जोमसोम सडक एक हप्तापछि सोमबार साँझदेखि सञ्चालनमा आएको छ । कालीगण्डकीमा आएको बाढीले सडक कटान र पहिरो खसेपछि गत हप्ताको सोमबारदेखि अवरुद्ध बनेको थियो ।

बेनी–जोमसोम–कोरला सडक आयोजना, आयोजनामा परिचालन भएका निर्माण कम्पनी, अन्नपूर्ण गाउँपालिका र सुरक्षा निकायको सक्रियतामा सडक मर्मत गरेपछि ७६ किलोमिटर दूरीको बेनी–जोमसोम सडकमा सीधा सवारी सञ्चालन हुन थालेको आयोजनाका इञ्जिनियर जगत प्रजापतिले जानकारी दिनुभयो ।

म्याग्दीको भिरकाटे, काभ्रेभिर र घाँसाको पहिरो पन्छाउने, कटान गरेको ठाउँमा डाइभर्सन बनाएर सडक मर्मत गरिएको छ । भुरुङ्ग तातोपानीको नागढुङ्गामा कालीगण्डकीले सडक कटान गरेपछि पहाड फुटाएर सडक खुलाएको आयोजनाका सुपरभाइजर इन्द्रसिं शेरचनले बताउनुभयो । सडक खुलेपछि रोकिएका सवारी साधन र यात्रुहरु आफ्नो गन्तव्यतर्फ लागेका छन् ।

नागढुङ्गामा कालीगण्डकीमा आएको बाढीले धार परिवर्तन गरेर करीब २० मिटर सडक कटान गरेर बगाएपछि अक्करे पहाडको फेदीमा झुण्डिएर आवतजावत गरेका थिए । सडक अवरुद्ध हुँदा म्याग्दी र मुस्ताङका बासिन्दाका साथै मुस्ताङ भ्रमणमा आउने पर्यटक र तीर्थयात्रीसमेत प्रभावित भएका थिए ।
रासस