मन्त्रालय अनुगमनमा मुख्यमन्त्री पौडेल


हेटौंडा ।
३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश मन्त्रालयहरुबाट गरिएका कामका विषयमा अनुगमन सुरु गर्नुभएको छ ।
प्रदेशका छ मन्त्रालयमा मुख्यमन्त्रीले अनुगमन सुरु गर्नुभएको हो । प्रदेशका मन्त्रालयहरुले चालु आर्थिक वर्षको वार्षिक योजना तथा बजेट कार्यान्वयनको तयारी र मन्त्रालयबाट गरेका काम÷कारबाहीका विषयमा जानकारी लिने र निर्देशन दिने काम उहाँले गर्नुभएको हो ।
मन्त्रालयबाट निर्माण गर्नुपर्ने कानुन निर्माणको अवस्था, बजेट कार्यान्वयनको अवस्थाका विषयमा मन्त्रालयहरुमै गएर छलफल सुरु गरिएको हो । त्यही क्रममा मुख्यमन्त्री पौडेल, प्रमुख सचिव आनन्दराज ढकालसहित सामाजिक विकास मन्त्रालयको अनुगमन र काम कारबाहीका विषयमा जानकारी लिइएको थियो ।
मन्त्रालयमा सामाजिक विकास मन्त्री युवराज दुलाल, सचिव, शाखाका कर्मचारीसहितले गरिएका कामका विषयमा प्रस्तुतिकरण गरेका थिए । अनुगमनका क्रममा गत आर्थिक वर्षका बजेट कार्यक्रमको समिक्षा, मन्त्रालयका तर्फबाट तर्जुमा गर्नुपर्ने कानुन निर्माणको अवस्था, कार्ययोजना, बनेका कानुन, अब बन्नुपर्ने कानुन,चालु आर्थिक वर्षका कार्यक्रम तथा बजेट कार्यान्वयनको तयारी, मन्त्रालयगत समस्या, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यलयबाट सहजीकरण गर्नुपर्ने विषयमा छलफल गरिएको थियो ।