दोलखामा उत्पादीत विद्युतलाई बाटै छैन्


चिरञ्जीवी मास्के, दोलखा ।
जलस्रोतको हबको रुपमा विकास भै रहेको दोलखा जिल्लामा उत्पादीत विद्युत अन्यत्र निर्यात गर्न बाटोको समस्या देखिएको छ । दोलखा सदरमुकाम चरिकोट लगाएतका ठाँउमा पटक पटक विद्युत अवरुद्ध हुने समस्या लिएर नेपाल विद्युत प्राधिरण दोलखा पुगेका उद्योगी व्यवसायीहरुलाई कार्यालय प्रमुखले उत्पादीत विद्युत निर्यातको लागि बाटो नभएकोले समस्या आएको जवाफ दिएका छन् ।
दोलखा जिल्लामा सञ्चालनमा रहेको बिभिन्न हाईड्रो पावरहरुबाट उत्पादीत विद्युत बर्षाको समयमा जिल्लामामात्र खपत नहुने र अन्यत्र निर्यात गर्न आवश्यक क्षमताको प्रसारणलाईन (बाटो) नभएकोले पटक पटक ट्रिप (विद्युत अवरुद्ध) हुने समस्या रहेको नेपाल विद्युत प्राधिकरण दोलखाका प्रमुख अमृतबाबु अधिकारीले बताए । सदरमुकाम चरिकोट लगाएतका ठाँउमा पटक पटक विद्युत अवरुद्ध हुदा इलेक्ट्रोनिक सामानहरु (टिभी, फ्रिज, रेडियो आदी) पट्कीने, आगलागि हुने, पर्यटन आगमनमा कमी, तामाकोसी आयोजनाको सयेर भर्न गाँउगाँउबाट आएका स्थानियलाई धेरै समय लाग्ने जस्ता समस्या रहेको भन्दै दोलखा उद्योग बाणिज्य संघका अध्यक्ष सुन्दर कार्की, क्षेत्रिय होटल संघ दोलखाका अध्यक्ष सन्तोष पाठक लगाएतका उद्योगी व्यवसायीको टोलि सोमवार (आज)नेपाल विद्युत प्राधिकरण दोलखा शाखामा पुगेको थियो । उक्त टोलिले कार्यालय प्रमुख अमृतबाबु अधिकारीलाई ज्ञापनपत्र बुझाउदै समस्या तत्काल समाधान नभए चरणवद्ध आन्दोलन गर्ने चेतावनी दिएको छ । टोलिले सोमवार नै (आजै) प्रमुख जिल्ला अधिकारी सागरमणी पाठकलाई समेत ध्यानाकर्षपत्र बुझाएको छ ।
नेपाल विद्युत प्राधिकरण दोलखाका प्रमुख अधिकारीले दोलखामा देखिएको अहिलेको समस्या समाधानको लागि बढी क्षमताको प्रसारण लाईन आवश्यक रहेको बताए । दोलखाको बिभिन्न हाईड्रो पावरबाट उत्पादीत विद्युत केन्द्रिय प्रशारण लाईनमा जोड्दीन भन्न मिल्दैन, जोडदा प्रशारण लाईनको क्षमता (बाटो) कम भएकोले पटक पटक अवरुद्ध (ट्रीप) हुने समस्या आउछ – प्रमुख अधिकारीले गुनासो गर्दै भने ।
नेपाल विद्युत प्राधिकरण दोलखा शाखाका अनुसार अहिले दोलखाको बिभिन्न हाईड्रो पावरहरुबाट २२÷२४ मेगावाट विद्युत उत्पादन भै रहेको छ र जिल्लामा बढीमा ३÷४ मेगावाट विद्युतमात्र खपत हुने गरेको छ । बाँकी विद्युत केन्द्रीय प्रशारण लाईनमा जोड्दा क्षमता अभावको कारण पटक पटक अवरुद्ध (ट्रीप) हुने समस्या आएको छ । अहिलेको प्रशारण लाईनको क्षमता बढीमा १४ मेगावाट विद्युतमात्र पठाउने रहेको कार्यालयले जनाएको छ ।
दोलखा उद्योग बाणिज्य संघका अध्यक्ष सुन्दर श्रेष्ठले प्रशारण लाईनको समस्या दोलखालीको समस्या नभै सरकार र विद्युत प्राधिकरणको समस्या भएको उल्लेख गर्दै तत्काल समस्या समाधान गर्न के कस्तो पहल गर्नु पर्ने हो त्यसमा ध्यान दिन कार्यालय प्रमुख अधिकारीलाई आग्रह गरे । अन्यथा विद्युतमा देखिएको समस्याले भएको क्षतिको लागि क्षतिपूर्ति माग गर्ने र चरणवद्ध आन्दोलन घोषणा गर्ने कार्कीले बताए ।