शैक्षिक गुणस्तर वृद्धिका लागि गाँउपालिकाले विद्यालयमा लगायो एसपिआरए सिस्टम


सरोज यादव, विराटनगर ।
सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्न तल्लोस्तरबाट सूचना प्रविधिको प्रयोग आजदेखि मोरङको जहदा गाउँपालिकाकास्थित विद्यालयहरुमा गरिएको छ ।जहदा गाउँपालिकाका प्रमुख कैलाशप्रसाद मण्डलले इम्पेटस टेक्नोलोजी नेपाल प्रालिद्धारा निर्मित “स्टुडेन्ट प्रोफाइल रिसर्च एनालाइसिस (एसपिआरए) एकेडेमिक एनलाईसिस रिसोर्स प्रोग्रामिङ (इआरपी) सिस्टमको गाउँपालिकाको कार्यालयमा स्विच दवाई शुभारम्भ गरे ।

उक्त सिस्टमको सूचना प्रविधिद्धारा विद्यालयको गतिविधि अध्ययन गर्नुका साथै विद्यार्थीहरुको विद्यालयमा उपस्थिति, पठनपाठनको अनुगमन, अतिरिक्त क्रियाकलापको अध्ययने एकैसाथ गाउँपालिकाका प्रमुख, शिक्षक र अभिभावकले दैनिक, साप्ताहिक र मासिक रुपमा आफ्नो कोठामा हेर्न सकिने व्यवस्था गरिएको छ । विद्यालयको अध्ययनस्तरको मापन, नियमन, गुणस्तर कायम गर्न प्रविधि उपयोगी रहेको स्थानीय अभिभावहरुको भनाइ रहेको छ । यस प्रविधिको प्रयोगवाट विद्यालय हाताभित्र हुने सम्पूर्ण गतिविधि जानकारी प्राप्त भै विद्यार्थीेको अध्ययन शैलीमा वृद्धि हुनुका साथै शिक्षकको विद्यार्थीहरुलाई अध्यापनमा लगनशिलता साथै सिकाई उपलब्धीमूलक हुने विश्वास गरिएको छ । प्रदेश नं १ मा पहिलो पटक मोरङको दक्षिण सीमावर्ती जहदा गाउँपालिकाका १६ विद्यालयहरुमा उक्त प्रविधि जडान गरिएको छ ।

गाउँपालिकाले यसक्षेत्रमा रहेका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धिका लागि प्रति विद्यालय १ लाख २५ हजार वार्षिक दिने गरि उक्त प्रविधि जडान गरिएको हो ।शुभारम्भ समारोहमा गाउँपालिकाका प्रमुख मण्डलले सामुदायिक विद्यालयका विद्यार्थीहरु निजी विद्यालय सरह गुणस्तर र शैक्षिकस्तर वृद्धि कायम होस भन्ने उद्देश्यले प्रविधि जडान गरिएको वताए । इम्पेटस नेपालका अध्यक्ष जीवन गुरागाईले प्रदेश नं ४ वाहेक ६ प्रदेशका १६५ स्थानीय निकायका ३ हजार ६ सय विद्यालयमा यो प्रविधि जडान गर्ने सम्झौता भएको जानकारी दिदै शिक्षा मन्त्रालयले १६ करोड ७८ लाख ७ जिल्लाका विद्यालयमा प्रविधि जडानका लागि वजेट छुट्याएको जानकारी दिनुभयो । उहाँले राष्ट्र निर्माणको सोचले सामुदायिक विद्यालयको शैक्षिकस्तर वृद्धिका मात्र कार्य गरेको वताउदै निजी विद्यालयमा प्रविधि जडान नगर्ने वताए । कार्यक्रममा दुर्गा माध्यमिक विद्यालयका प्रधानाध्यापक जयप्रसाद साहले प्रविधिको प्रयोगवाट शैक्षिक सुधार आउने विश्वास व्यक्त गरे ।