प्रदेश ५ का ५२ वटै प्रदेश सभा निर्वाचन क्षेत्रमा स्मार्ट कृषि गाउँ बनाईने


बुटवल ।
प्रदेश ५ सरकारले उत्पादन दोब्बर बनाउने लक्ष्यसहित ५२ वटा स्मार्ट कृषि गाउँ बनाउने भएको छ ।
प्रदेश सरकारले ‘प्रदेश स्मार्ट कृषि गाउँ’ कार्यक्रमका लागि चालु आर्थिक वर्षको वजेटमा प्रत्येक स्मार्ट कृषि गाउँलाई जनही ५० लाखका दरले २६ करोड रुपैयाँ विनियोजन गरेको छ ।
प्रदेश ५ मा रहेका ५२ वटै प्रदेश सभा निर्वाचन क्षेत्रलाई समेटेर प्रत्येक क्षेत्रमा एउटा गाउँ छनोट गरी प्रदेश स्मार्ट कृषि गाउँका रुपमा विकास गर्ने लक्ष्यसहित काम भइरहेको कृषि,भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका सचिव यमनारायण देवकोटाले बताउनु भयो ।
प्रदेश स्मार्ट कृषि गाउँ छनोटका लागि प्रदेश सभा सदस्यले आफ्नो निर्वाचन क्षेत्रभित्रका सबै गाउँपालिका प्रमुखहरुसंग छलफल गरी उपयुक्त र बढी सम्भावना बोकेको एउटा गाउं छनोट गर्नेछन् । अहिले खाद्यान्न बाली र तरकारी तथा पशुपालन भइरहेका गाउंमध्येबाटै सबैभन्दा उपयुक्त र बढी संभावना भएको गाउँलाई नै छनोट गरिने छ ।
यसका लागि सडक पुर्वाधार भने पुगेको हुनुपर्ने छ । यो कार्यक्रम प्रभावकारी र नमूनाका रुपमा कार्यान्वयनमा ल्याउन कार्य्विधि बनाउने काम अन्तिम चरणमा पुगेको, यही महिना भित्रै ५२ वटै गाउँ छनोट भइसक्ने र असोजदेखि कार्यान्वयनमा जाने गरी काम भइरहेको मन्त्रालयका सचिव देवकोटाले जानकारी दिनु भयो ।
स्मार्ट कृषि गाउँमा खाद्यान्न, तरकारी, फलफल र पशुपालन मध्ये जुनसुकै खेती र व्यवसाय गर्न सकिने छ । छनोट हुने प्रत्येक गाउँले ५० लाख रुपैयाँ वजेट प्राप्त गर्नेछन् । कार्यक्रम सफल बनाउन सघन अनुगमन र सहज प्राविधिक सेवालाई प्राथमिकतामा राखिएको छ ।
कृषकलाई आवश्यक सूचना, जानकारी दिन स्मार्ट कृषि गाउँको आफ्नै एप र सूचना केन्द्र बनाइनेछ ।
कृषकलाई आवश्यक प्राविधिक सेवा दिन सबै कृषि गाउँमा एक एकजना सामाजिक परिचालकको व्यवस्था गरिने सचिव देवकोटाले बताउनु भयो ।
विशेषगरी मुख्यमन्त्रीले स्मार्ट कृषि गाउँ कार्यक्रमलाई मुलुककै नमूना बनाउने गरी काम गर्न निर्देशन दिएकाले मन्त्रालय सोही अनुसार लागिपरेको छ’सचिव देवकोटाले भन्नु भयो ।