एक्विजिसन कार्यलाई यथासम्भव छिटो सम्पन्न गर्ने सहमति


काठमाडौँ ।
काठमाडौं कमलपोखरी स्थित केन्द्रीय कार्यालय रहेको प्राइम कमर्सियल बैंक लिमिटेडले पोखरा कास्की चिप्लेढुंगा स्थित केन्द्रीय कार्यालय रहेको “ख” वर्गको वित्तीय संस्था ओम डेभलपमेन्ट बैंक लिमिटेडलाई प्राप्ति – (एक्विजिसन) गर्ने सम्वन्धी सहमतिपत्रमा आज एक समारोहका बिच सहमतिपत्रमा हस्ताक्षर भएको छ ।
सो सहमतिपत्रमा प्राइम कमर्सियल बैंकका तर्फबाट सञ्चालक समितिका अध्यक्ष उदयमोहन श्रेष्ठ र ओम डेभलपमेन्ट बैंकका तर्फबाट सञ्चालक समितिका अध्यक्ष सुशील कुमार गोशलीले एक समारोहका बिच सहमतिपत्रमा हस्ताक्षर गर्नुभएको थियो । केन्द्रीय नियमनकारी निकाय, नेपाल राष्ट्र बैंकले प्राथमिकताका साथ जोड दिइरहेका विषयहरु मर्जर र एक्विजिसन, ग्रामीण क्षेत्रमा विशेषगरी कृषि क्षेत्रमा वित्तीय स्रोतको पहुँच वृद्धि, ग्रामीण क्षेत्रमा रोजगारी सिर्जना, सीमित तर थप सुदृढ र सवल बैंकको रुपमा मुलुकको समग्र आर्थिक विकासमा सहभागिता बढाउने उद्देश्यले ओम डेभलपमेन्ट बैंकलाई एक्विजिसन गर्न सहमति जनाइएको छ ।
ओम डेभलपमेन्ट बैंकका ग्रामीण क्षेत्रमा थुप्रै शाखा संजालहरु रहेका छन । प्राप्ति पश्चात प्राइम कमर्सियल बैंकको कुल शाखा संख्या ११६ हुनेछ ।
असार मसान्तको वित्तीय विवरण अनुसार कुल निक्षेप एक खर्बभन्दा बढी र कर्जा ८९ अर्बभन्दा बढी हुनेछ ।
नेपाल राष्ट्र बैंक तथा अन्य नियमनकारी निकायको मार्ग निर्देशन बमोजिम एक्विजिसन कार्यलाई यथासम्भव छिटो सम्पन्न गर्ने सहमति भएको छ ।