वृद्धवृद्धालाई घरघरमै निःशुल्क स्वास्थ्य सेवा


कृष्ण आचार्य, चितवन ।
पूर्वीचितवनको रत्ननगर नगरपालिकाले नगरभित्रका वृद्धवृद्धाहरुलाई घरघरमै पुगेर स्वास्थ्य सेवा दिन सुरु गरेको छ ।

नगरपालिकाले नगरभित्र रहेका ८० वर्ष माथिका वृद्धवृद्धाहरुलाई उनीहरुकै घरमा पुगेर प्राथमिक स्वास्थ्य सेवा दिन सुरु गरेको हो । वृद्धवृद्धाहरु अस्पताल तथा स्वास्थ्य संस्थासम्म पुग्न कठिन भएकाले घर घरमै पुगेर प्राथमिक स्वास्थ्य परीक्षण गर्न सुरु गरिएको रत्ननगर नगरपालिकाका प्रमुख नारायण वनले जानकारी दिए । परीक्षण गर्दा कुनै समस्या वा रोग देखिए उनीहरुलाई बकुलहर रत्ननगर अस्पतालमा लगेर उपचार गरिने नगर प्रमुख वनले बताए ।

नगरपालिकाभित्रका १६ वटा वडामा ८० वर्षमाथिका एक हजार ५० जना वृद्धवृद्धा रहेको र उनीहरु सबैको घरघरमै पुगेर स्वास्थ्य परीक्षण गरिने जनाइएको छ । अभियानको रुपमा लैजाने ज्येष्ठ नागरिक स्वास्थ्य परीक्षण कार्यक्रमको सोमबार रत्ननगर नगरपालिकाको वडा नम्बर ५ झुवानीमा एक औपचारिक कार्यक्रम गरी सुरुवात गरिएको छ ।

प्रदेशसभा सदस्य कञ्चन खनाल प्रमुख अतिथि रहेको कार्यक्रममा बकुलहर रत्ननगर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.अजय न्यौपाने ८० वर्ष माथिका सबै ज्येष्ठ नागरिकलाई अस्पतालमा उपलब्ध सबै सेवा निःशुल्करुपमा प्रदान गरिने बताए । ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण गर्न नगरपालिकाको स्वास्थ्य शाखाको र बकुलहर रत्ननगर अस्पतालबाट स्वास्थ्यकर्मीहरु गाँउमा खटिएका छन् । ८० वर्ष माथिका जेष्ठ नागरिकहरुको स्वास्थ्य परीक्षण तथा उपचारको लागि नगरपालिकाले १० लाख रुपैयाँ विनियोजन गरेको छ । वडा नम्बर ५ बाट सुरु गरिएको कार्यक्रम रत्ननगरका सबै वडामा पुग्ने र अभियान निरन्तर चलिरहने नगरपालिकाले जनाएको छ ।