सेतीको बाढीमा दाउरा बटुल्दै स्थानीय

0
Shares

विमल विष्ट, डोटी
डोटीको सेती नदी आसपासका स्थानीयबासिन्दा ज्यान नै जोखिम राखेरे बाढी आएपछि सेती नदीमा पस्ने गर्छन् । नदीमा बाढी बढेसँगै काठहरु बगाएर ल्याउन थालेपछि सेती नदीको आसपासका स्थानीयवासीहरु ज्यान जोखिम राखेर दाउरा संकलन गर्न नदीमा पस्ने गरेका हुन् ।

डोटीको बानीडुग्रीसैन, गोपघाट, कालागाढ, दिपायल तथा नारीदांङका स्थानियहरु हिजोआज दिनहुँ सेती नदिमा दाउरा बटुल्न थालेका छन् । यहाँका स्थानीय दिनभर सेती नदीको किनारामा ज्यान नै जोखिममा राखि दाउरा संकलन गरिरहेको छन् । बर्षेनी सेती नदीले वर्षायाममा साना–ठूला काठहरु बगाएर ल्याउने गरेका कारण सेती आसपासका स्थानीयवासीहरु दाउरा संकलनका लागि ज्यानलाई नै जोखिममा राखेर नदीमा पस्ने गरेको शिखर नगरपालिका १ कालागाढका स्थानिय लक्षि बिकले बताउनु भयो ।

सेती नदीमा दाउरा निकाल्दा बर्षेनी एक दुई जना मर्ने गरेको भए पनि स्थानीयवासीहरुले दाउरा निकाल्न छोडेका छैनन् । वर्षा सिजनमा सेतीबाट निकालेका दाउराले वर्षभर खाना पकाउन तथा हिँउदको समयमा मुढा ताप्न र पानी तताउनलाई काम लाग्ने गरेको स्थानीय बासिन्दा बताउँछन् ।

दिपायल बजारहरुमा दाउरा एकदमै महङ्गो भएकाले साथै सेती आसपासका क्षेत्रमा जंगल कमै भएका कारण यस क्षेत्रहरुमा दाउराको समस्या हुने गर्दछ । बालक र वृद्घबाहेकका घरका सबै सदस्य दाउरा निकाल्न जाने गर्दछन् । सेती नदीको किनारा वारी–पारी दाउरा निकाल्नेहरुको भिड लाग्ने गरेको भए पनि स्थानीय सरकार, प्रशासनले सुरक्षाका लागि कुनै पनि कार्य नगरेको स्थानीयहरुको आरोप छ ।