नेपाल समाचारपत्र, हेटौंडा
हेटौंडाको मुख्य बजार क्षेत्रमा अब फुटपाथबिहीनताको अवस्था आउने देखिएको छ । हेटौंडाको राप्तिरोड क्षेत्रमा अब पैदल यात्रु हिँड्ने पुटपाथमा नै ‘पार्किङ’ गर्न पाइने भएको हो ।
हेटौंडा उपमहानगरपालिका र मकवानपुर उद्योग वाणिज्य संघको संयुक्त टोलीले हेटौंडा–१ तर्फ पैदल यात्रुका लागि बनाइएको फुटपाथमै पार्किङ गर्न पाइने गरी ‘मार्किङ’ गरेको छ ।
राप्तिरोड क्षेत्रलाई ‘नो पार्किङ’ बनाइएपछि सडक क्षेत्रमा रहेको पार्किङलाई अब फुटपाथमा सार्न लागिएको हो । ‘नो पार्किङ’ मा मोटरसाइकल रोकेर सामान किनमेल गर्न नपाइने भएपछि उपमहानगर र मकवानपुर उद्योग वाणिज्य संघको संयक्त सहमतिमा राप्तिरोड क्षेत्रका फुटपाथका तीन स्थानमा पार्किङका लागि ‘मार्किङ’ गरेको मकवानपुर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष माधव न्यौपानेले बताउनुभयो ।
संघले यसअघि फुटपाथ क्षेत्रमा ब्यवसायीको मोटरसाइकल रोक्न पाउने र ‘नो पार्किङ’ क्षेत्रमा किनमेल अवधिभर मोटरसाइकल रोक्न पाउने सहमति भएको भन्दै आन्दोलन फिर्ता लिएको थियो । तर, उपभोक्ताको मोटरसाइकल पेटीमा पार्किङ गर्न पाइने गरी ‘मार्किङ’ भइरहेको हो ।
न्यौपानेका अनुसार फुटपाथ ११ फिट रहेको तर मोटरसाइकलले ५ फिटमात्र ओगट्ने भएका कारण उपभोक्ताको सहजताका लागि पार्किङको लागि तयारी गरिएको हो ।
ग्राहकको समस्यालाई मध्यनजर गरेर उपयुक्त स्थान खोजी गरेपछि मात्र ग्राहकको मोटरसाइकल केही बेर रोक्ने गरी सहमति गरिएको मेयर हरिबहादुर महतको भनाइ छ ।











प्रतिक्रिया