तेस्रोलिङ्गीको गुनासो: दिनहुँ हुन्छ कुटपिट र दुव्र्यवहार

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं
मेकअप आर्टिस्टका रुपमा कार्यरत तेस्रोलिङ्गी महिला टिना राई शुक्रबार राती काठमाडौंको ठमेलमा एक्कासी प्रहरीको आक्रमणमा परिन् । आफ्नो काम सकेर घर फर्किने क्रममा रेष्टुरेन्टमा खाजा खाइसकेपछि आफ्नै साथीहरुसँग सामान्य विवाद भएको विषयलाई लिएर प्रहरीले टिनालाई शरीरमा निलडाम हुने गरी कुटपिट गरेको बताइन् ।

टिनाले भनिन्– ‘कुनै गल्ती नै नगरी घटनाको वास्तविकता नबुझीकन ममाथि आक्रमण भयो, आक्रमणपछि पनि मलाई उपचार गर्नुको साटो सोझै प्रहरी वृत्त सो¥हखुट्टेमा लगेर थुनामा राखियो ।’ उनले भनिन्– ‘म मात्र होइन यौनिक तथा लैङ्गिक अल्पसंख्यक भएकै आधारमा म जस्ता दर्जनौं साथीहरु हरेक दिन प्रहरी र बाह्य ब्यक्तिहरुको आक्रमणमा परिरहेका छौं ।’

टिना मात्र होइन रात्रिकालीन काम र रेष्टुरेन्टमा कार्यरत महिलाहरुमाथि कुटपिटका घटनाहरु बढेको पाइएको छ । नीलहीरा समाजमा कार्यरत अधिकारकर्मी भक्ति साह भन्छन्– ‘उजुरीका आधारमा घटनाको प्रकृति हेर्दा निर्दोष ब्यक्तिहरु बढीजसो कुटपिट र अंगभंग भएको देखिन्छ ।’ उनले भने– ‘विशेष गरी दैनिकजसो कुटपिट र दुब्र्यवहारमा पर्नेमा तेस्रोलिङ्गी तथा समलिङ्गीहरुको संख्या धेरै छ, न्यायका लागि उजुरी दिए पनि कुनै सुनुवाइ हुँदैन ।’

नीलहीरा समाजमै आएको उजुरीको तथ्याकंलाई हेर्ने हो भने सन् २०१८ जनवरी देखि अगष्टसम्ममा १ सय १६ वटा उजुरी दर्ता भएका छन् । जसमध्ये बाह्य ब्यक्ति र प्रहरीको निशानामा ५० जना ब्यक्तिमाथि विना कारण कुटपिट भएको पाइएको छ ।

अधिकारकर्मी साहका अनुसार कतिपय घटनाहरु तेस्रोलिङ्गी तथा समलिङ्गीहरुलाई बाटोमा हिंडडुल गर्दा जिस्क्याउने, दुब्र्यवहार गर्ने, अपशब्द बोलेर गाली गर्नेजस्ता अमानवीय घटनाहरु भएको पाइन्छ ।

आठ महिनाको अवधीमा कुटपीट र दुब्यवहारकै चारवटा उजुरी राष्ट्रिय मानव अधिकार आयोगमा दर्ता भएको उनले बताए । संविधान तथा विभिन्न कानुनहरुमा यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायलाई समान व्यवस्था भए पनि आम मानिसको हेर्ने दृष्टिकोण र ब्यवहार परिवर्तन हुन नसक्नु दुखद भएको साहले बताए ।

यद्यपि, भदौ १ गतेदेखि लागू भएको मुलुकी देवानी संहिता र मुलुकी फौजदारी संहितामा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायलाई भेदभावपूर्ण व्यवहार गरे कानुनी कारवाही हुने व्यवस्था छ । यौनिक तथा लैंगिक अल्पसंख्यक (समलिंगी, तेस्रोलिंगी, द्वयलिंगी र अन्तरलिंगी) भएकै कारण भेदभावपूर्ण व्यवहार गरेमा तीन बर्ष कैद वा ३० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय भोग्नु पर्ने भएको हो ।