सडक सुरक्षामा चासो

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं
पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले अहिले सडक सुरक्षा प्रमुख र चिन्तालाग्दो विषय भएको उल्लेख गर्दै हरेक व्यक्ति समान खुबीले समान रुपमा सक्षम रहेको बताउनुभएको छ । उहाँले सो कुरा सडक सुरक्षा फेन्सी ड्रेस प्रतियोगिता कार्यक्रममा प्रमुख अतिथिको भूमिकाबाटबोल्दै बताउनुभएको हो।

‘सुरक्षाका लागि पोसाक लगाऔं’ भन्ने नाराका साथ सम्पन्न कार्यक्रममा उहाँले सबै नेपालीलाई सुरक्षा नियम पालना गर्न र सभ्य बन्न पनि अनुरोध गर्नुभयो । उहाँले बालबालिकाको कलिलो उमेरदेखि नै यो अभियानमार्फत सुरक्षाप्रतिको धारणा बदल्न सिप्रदीले गरेको प्रयासको पनि प्रशंसा गर्नुभयो ।

महानगरीय ट्राफिक प्रहरी प्रभागका प्रहरी उपरीक्षक (एसपी) राजकुमार लम्सालले कार्यक्रममा सडक सुरक्षाको सवालले प्राथमिकता पाएकोमा खुसी व्यक्त गर्नुभयो । केन्द्रीय प्याब्सनका उपाध्यक्ष दीपिका थापाले बालबालिकालाई सुरक्षा नियमहरुको पालना गर्न प्रोत्साहन गर्नुभयो । नेपाल रेडक्रस सोसाइटीका कार्यक्रम संयोजक टीकाराज पौड्याल पनि युवाहरुलाई सुरक्षित समाजको नेतृत्व लिन उर्जा प्रदान गर्न कार्यक्रममा सहभागी हुनुहुन्थ्यो ।

सडक सुरक्षाप्रति आफ्नो महत्वपूर्ण पहल देखाउनका लागि १५ वटा विद्यालयहरु प्रतियोगितामा सहभागी थिए । सबै विद्यालयहरुको सुरक्षाको बारेमा आफ्नै नारा थियो र उनीहरुले सुरक्षातर्फ सम्मान देखाउँदै परेड पनि प्रस्तुत गरे । विद्यार्थीहरुले ट्राफिक बत्ती, ट्राफिक कोन, जेब्रा क्रसिङ, परावर्तन हुने ज्याकेट, मादक पदार्थ सेवन गरी सवारी नचलाउने विषयवस्तु समेटिएको घाइते मानिस, हेल्मेट लगाउने लगायतका सन्देश दिने खालका सडक सुरक्षासम्वन्धी सिर्जनशील विचार रहेका पोशाक लगाइरहेका थिए ।

विद्यार्थीहरुले उनीहरुको पोशाक कार्डबोर्ड, चार्टपेपर र विभिन्न खालका फेब्रिकको प्रयोग गरी उनीहरुको विचार र ज्ञानका आधारमा सुरक्षाको विषयमा बनाएको बताए । प्रतियोगितामा रुपि इन्टरनेसनल स्कूलले समग्र सुरक्षा सन्देशमा सर्वोत्कृष्टको पदवी पाउन सफल भयो ।

कार्यक्रमको समापन गर्दै सिप्रदी ट्रेडिङका सीओओ राजेशप्रसाद गिरीले हाम्रो बसको कुराको पछाडि सुरक्षा हाम्रो नियन्त्रणमा भएको सबैले सुरक्षा नियमको पालना गर्नुपर्ने र कुनै पनि अनिश्चितताबाट आफूलाई जोगाउन सुनिश्चित गर्नुपर्ने मान्यता भएको बताउनुभयो ।