झापामा ३७.२ डिग्री तापक्रम


भद्रपुर ।
पूर्वी क्षेत्रका जिल्लाहरु लगायत झापामा पनि उत्पात गर्मी बढेको छ । गर्मीका कारण सवै क्षेत्रको जनजिवन प्रभावित बन्दै गएको छ । गर्मीबढेसँगै पटक–पटक विधुत् अबरुद्ध हँुदा थप समस्या उत्पन्न भएको छ । गर्मीले सवैभन्दा बढी बृद्ध–बुद्धा र बालबच्चा यसको शिकार बनेका छन् ।
केहि दिनदेखि वर्षा नभएपछि विहानैदेखि निरन्तर घाम लाग्ने गरेका कारण तापक्रममा बृद्धि भई गर्मी बढेको बढ्यै छ । मनसुनी वर्षा तुलनात्मकरुपमा कम भई कडा घाम लागेपछि जिल्लाको तापक्रममा बृद्धि आएको विज्ञहरुको भनाइ छ । वायुमण्डल सफा भई घाम सिधा जमीनमा पर्ने भएकोले एक्कासी तापक्रममा बृद्धि आएको मौसमविद् मीनकुमार अर्यालले जानकारी दिए । मनसुन न्यूनचापीय रेखा नेपाललको तलतिर रहेकोले अहिले खण्ड–खण्डमा वर्षा हुने गरेको उनले बताए । भदौ ५ देखि मनसुनी गतिविधि पुनः सक्रिय भई देशको मध्य र पूर्वी भेगमा वर्षाको सम्भावना रहेको उनको भनाइ छ । पश्चिम भागमा केही सम्भावना देखिएपनि पूर्वी भागमा केही दिन लाग्ने उनको भनाइ छ । यो महिना गर्मी हुने नै सिजन भएकोले खासै आत्तिहाल्नु पर्ने अवस्था नआएको उनले जानकारी दिए ।
यति बढी गर्मी विगतका वर्षहरुमा नभएको भद्रपुर १० का ९५ वर्षीय मान बहादुर काफले बताउँछन् । ३४ सालदेखि झापा आएर बसेपनि यस्तो उत्पात गर्मी भने अनुभव नगरेको उनले सुनाए । गर्मीका कारण खान मन नलाग्ने र राती निदाउन पनि नसकिएको उनको भनाइ छ । गर्मीले व्यापार व्यवसाय समेत चौपट हुदै गएको भद्रपुर बजारका कपडा व्यवसायी लक्ष्मण कानूले बताए । घामका कारण बजारमा मानिस नै नआउने गरेको उनले सुनाए । दिनभर पसल रुँगेरमात्र बस्नु परेको उनको भनाइ छ ।
आइतबार झापामा अधिकतम तापक्रम ३७ दशमलव २ डिग्री सेल्सियस पुगेको छ । शुक्रबार ३६ डिग्री र शनिबार ३६ दशमलव २ डिग्री सेल्सियस पुगेको चन्द्रगढी नागरिक उड्यन कार्यालयका प्रमुख पुर्ण चँुडालले जानकारी दिए । आइतबार दिउँसो साढे १ बजेको यो मापन आजका लागि विस्तारै घटदै जाने उनले बताए ।