कपिलवस्तु प्रहरीद्वारा साढे ४ लाखको अबैध सामान भन्सार पठार्इयाे


सीताराम चौधरी, कपिलवस्तु ।
कपिलवस्तु प्रहरीले आइतबार ४ लाख ३० हजार २०५ मूल्य बराबरको अबैध सामान भन्सार चलान गरेको छ ।
जिल्लाका विभिन्न स्थानबाट विभिन्न समयमा बरामद गरिएका भन्सार छलीका सामान कृष्णनगर भन्सार चलान गरेको प्रहरी सूचना सम्प्रेषण तथा प्रवक्ता नायब उपरीक्षक रबी रावलले जानकारी दिनुभयो ।
केही दिनअघि प्रहरीले विभिन्न स्थानबाट नम्बर प्लेट नभएका ७ (सात) थान मोटरसाईकल बरामद गरेको थियो । लामो समयसम्म पनि कोही कसैले मेरो हो भनि दाबी गर्न नआएपछि बरामदी मुचुल्काका साथ आवश्यक कारबाहीका लागि भन्सार चलान गरिएको हो – प्रहरी नायब उपरीक्षक रावलले बताउनुभयो । भन्सार चलान गरिएका मोटरसाइकल ३ लाख ७ हजार मूल्य बराबर रहेको प्रवक्ता रावलले जनाउनुभयो ।
यसैबीच कपिलवस्तु नगरपालिका ५, बभनीबाट साउन ३१ गते बरामद गरिएको ८४ हजार ४सय १५ रकम बराबरको विभिन्न सामान भन्सार चलान छ । भन्सार छली चोरी निकासी गरी ल्याउँदै गर्दा बरामद गरिएका अबैध लत्ताकपडा, चप्पल, तेल, गुटका लगायतका सामान आवश्यक कारबाहीका लागि भन्सार पठाइएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।
यसैगरी इलाका प्रहरी कार्यालय कृष्णनगरको गस्ती टोलीले शनिबार राति बरामद गरेको ३८ हजार ७सय ९० रुपैयाँ बराबरको अबैध सामान आइतबार भन्सार चलान गरेको छ । गस्तीका क्रममा प्रहरीले कृष्णनगर १, कुकुरभुकुवाबाट अबैध सामान बरामद गरेको थियो । बरामद गरिएका सामानमा केराउ, केराउको दाल र युरिया रहेको प्रहरीले जनाएको छ । तस्कर फरार भएपछि अबैध सामान बरामद गरी आवश्यक कारबाहीका लागि भन्सार पठाएको कृष्णनगर प्रहरीका प्रहरी निरीक्षक सूर्यबहादुर बोगटीले बताउनुभयो ।
जिल्लामा भइरहेका विभिन्न अपराधिक घटना, अबैध चोरी, निकासी, तस्करी लगायतका घटनामा कमी ल्याउन कपिलवस्तु प्रहरीले सुरक्षाव्यवस्था निकै कडा बनाएको प्रहरी उपरीक्षक मनोज कुमार यादवले बताउनुभयो । अपराधी तथा चोर, तस्करलाई कुनै पनि हालतमा नछाड्ने प्रहरी उपरीक्षक यादवले चेतावनी दिनुभएको छ ।