करको चाप बढ्दा पनि हेटौंडा उपमहानगरपालिकाद्वारा नक्सा निःशुल्क


हेटौंडा ।
देशमा पहिलोपटक हेटौंडा उपमहानगरपालिकाले यस क्षेत्रका वासिन्दालाई घर निर्माण गर्दा नक्सा निःशुल्क बनाइदिने भएको छ ।
उपमहानगरपालिका कार्यपालिका बैठकले नगरवासीले घर निर्माण गर्दा नक्सा निःशुल्क बनाउने निर्णय गरेको हो । साना घर निर्माण गर्ने सर्वसाधारणलाई मध्यनजर गरेर यस्तो निर्णय गरिएको हो ।
स्थानीय तहहरुले करवृद्धि गरेको जनगुनासो आइरहेको समयमा यस क्षेत्रका वासिन्दालाई घरको नक्सा बनाइदिने निर्णय गरिएको उपमहानगर मेयर हरिबहादुर महतले बताउनुभयो ।
विशेषगरी उपमहानगरमा गाभिएका तत्कालिन गाविसका वडालाई लक्षित गरेर निःशुल्करुपमा नक्सा बनाउने निर्णय गरिएको हो । एक हजार वर्गफिटसम्मका घर निर्माण गर्दा नक्सा निःशुल्क बनाइने मेयर महतले बताउनुभयो ।
आमनागरिक चारकोठे घर निर्माण गर्दा १५ हजार रुपियाँसम्म तिरेर नक्सा बनाउनुपर्ने वाध्यता भोग्दै आएका थिए । तर, आइतबारको निर्णयले घर निर्माण गर्दा पैसा खर्च गरेर घरधनीले नक्सा बनाउनुपर्ने वाध्यताबाट छुट्कारा पाएका छन् । नक्सा बनाउन उपमहानगरभित्र सेवाकेन्द्र स्थापना गर्ने तयारी थालिएको छ ।
यसअघि नगरवासीले कन्सल्टेन्सीमार्फत् नक्सा बनाउँदै आए पनि विभिन्न प्रक्रिया नपुग्दा उपमहानगरलाई नक्सापास गर्न पनि समस्या परेको थियो । अब उपमहानगरपालिकाले नै नक्सा बनाइदिने भएपछि प्राविधिक समस्याका कारण नक्सापास नहुने समस्या हटेको मेयर महतको भनाइ छ । नक्सा बनाउन उपमहानगरपालिकाले इञ्जिनियरको नेतृत्वमा प्राविधिक कर्मचारी खटाउने तयारी थालेको छ ।
हेटौंडाका १ देखि १९ नम्बर वडाका वासिन्दा उक्त निर्णयबाट लाभान्वित हुनेछन् । ‘निर्णयबाट विशेषगरी नगरमा गाभिएका वासिन्दालाई सहज हुनेछ,’ हेटौंडा–१ का अध्यक्ष सबिन न्यौपानेले भन्नुभयो । नक्सा बनाउन रकम लाग्ने र नक्सापास गर्दा हुने प्राविधिक झन्झटका कारण साबिक गाविस र हाल हेटौंडाका वडामा सजिलो भएको वडाध्यक्षहरु बताउँछन् ।

दुई दर्जन सिफारिस निःशुल्क
थानीय तहले विभिन्न सिफारिसमा चर्को कर असुल गर्दै आएको जनगुनासो बढेपनि हेटौंडा उपमहानगरपालिकाले करिब दुई दर्जन सिफारिस निःशुल्करुपमा गर्दै आएको छ । एक वर्ष भन्दा अघिदेखि धेरैखालका अनिवार्य सिफारिस निःशुल्क गरिँदै आएको हो ।
उपमहानगरपालिकाले यसअघि लिँदै आएको दस रुपियाँ फाराम शुल्क पनि निःशुल्क गरेको छ । उपमहानगरपालिकाको १ देखि १९ नम्बरसम्मका वडाबाट हुँदै आएका विभिन्न सिफारिस निःशुल्करुपमा गर्न लागिएको हो ।
उपमहानगरका सबै वडाबाट हुँदै आएको जन्मदर्ता, विवाहदर्ता, मृत्युदर्ता, बसाईंसराइ, स्वास्थ्य सिफारिस, शिक्षा सम्बन्धि सिफारिस, भुकम्प सम्बन्धि सिफारिस, दैवीप्रकोपको सिफारिस, सम्बन्धविच्छेद, नागरिकता सिफारिस, मृतकसँग नाता प्रमाणित सिफारिस, ज्येष्ठ नागरिक, दलित, जनजाति, पिछडिएका वर्ग, आदिवासी, अपांग, मधेसी, एकल महिला पहिचान जस्ता सिफारिस निःशुल्करुपमा गरिँदै आएको उपमहानगर मेयर हरिबहादुर महतले बताउनुभयो ।
तोकिएको समय सीमाभित्र आएर सिफारिस लिए निःशुल्करुपमा गरिदिने ब्यवस्था रहेको मेयर महतको भनाइ छ । स्थानीय सरकार जनतालाई सेवा दिन बसेकाले धेरैजसो सिफारिस निःशुल्करुपमा गरिँदै आएको उहाँले बताउनुभयो ।
कुनै सिफारिसमा केही वडाबाट फाराम शुल्क दस रुपियाँ लिँदै आए पनि उक्त रकम मिनाहा गरिएको मेयर महतले बताउनुभयो । भुकम्पपीडितको घर निर्माण नक्सापासमा ५० प्रतिशत छुट गरिएको छ ।
नागरिकलाई करमाथि कर थप्नुभन्दा करको दायरा बढाएर भएका सँग कर लिएर नभएका नागरिकलाई कर छुटको ब्यवस्थामा स्थानीय सरकार लागेको मेयर महतले बताउनुभयो ।