ओस्कारमा ओपन हाउस

0
Shares

ओस्कार कलेज अफ फिल्म स्टडिजले ओपन हाउस इभेन्ट गरेको छ। त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन लिई ब्याचलर लेभलको कोर्स पढाउँदै आएको कलेजले ओपन हाउसअन्तर्गत शनिबार आगन्तुकलाई फिल्म निर्माणको शुरुआतदेखि पछिल्लो समयको प्रविधि भीएफएक्सका बारेमा समेत जानकारी गराएको छ।

ओपन हाउस इभेन्टमा कलेजका विद्यार्थी, अभिभावक तथा सर्वसाधारणले सहभागिता जनाएका थिए।

कलेजका एकेडेमिक निर्देशक मनोजबाबु पन्तले ओपन हाउसमा फिल्म निर्माण प्रक्रियाको सम्पूर्ण जानकारी राखिएको बताए। ‘क्यामरा आविष्कारका लागि प्रेरित गर्ने क्यामरा अब्सक्युरादेखि लिएर पछिल्लो जमानाको लेटेस्ट प्रविधि भीएफएक्सका बारेमा पनि जानकारी राखेका छौं। एउटा फिल्म बनाउन के–के चाहिन्छ भन्ने कुरा देखाएका छौं।’ –पन्तले भने।

इभेन्टमा क्यामराको विकासक्रमलाई पनि सहभागीले अवलोकन गर्ने मौका पाए। कलेजले नेपालमा लामो समय प्रचलनमा रहेको सुपर सिक्स्टिनदेखि रेड हुँदै ड्रोन क्यामरासमेत प्रदर्शनका लागि राखिएको थियो। क्यामरा मात्र होइन, इभेन्टमा सहभागीले लाइभ एक्टिङको दृश्य पनि देख्न पाए। कलेजका विद्यार्थीले आगन्तुकलाई अभिनयको शैली बुझाउन आफैंले अभिनय गरेर देखाएका थिए। ज्याजबारको सेट बनाएर अभिनय गरेका विनोद सिंह थापा र अनु थापाले बारमा नृत्य गरेको आभाष दिलाएका थिए।

इभेन्टमा विद्यार्थीले खिचेका २० फोटो पनि प्रदर्शनीमा राखिएको थियो। यसरी राखिएका चित्र भने फिल्मसँग नभई जनजीवनसँग सम्बन्धित थिए। इभेन्टमा कलेजमा पढ्ने विद्यार्थीका अभिभावकको बाक्लो उपस्थिति थियो। सिनेमाटोग्राफी पढ्ने शेषन श्रेष्ठका बुबा प्रकाश श्रेष्ठले शनिबारको कार्यक्रम हेरेपछि छोराले के पढ्न लागेको रहेछ छर्लङ्ग भएको बताए। ‘यो हेरिसकेपछि चाहिँ फिल्म बनाउन गाह्रै हुँदोरहेछ जस्तो लाग्यो।’ –श्रेष्ठले भने।

कलेजमा ओेपन हाउस इभेन्ट गर्ने कन्सेप्टचाहिँ कलेजकी प्रशासन प्रमुख आश्मा पोखरेलकोे हो। अघिल्लो साल फिल्म वर्कसपका लागि इजरायल पुगेकी आश्माले त्यहाँको एउटा कलेजमा यस्तै कार्यक्रम भएको देखेपछि आफ्नो कलेजमा पनि ओपन हाउस गर्ने सोचको बताइन्। कार्यक्रममा विद्यार्थीले विभिन्न समयमा बनाएका फिल्मको पनि स्क्रिनिङ गरिएको थियो। सहभागीले विभिन्न फेस्टिवलमा समेत सहभागिता जनाएका काफल पाक्यो, बुट्टे जामा, क्यार क्यार पंखा, कल्ली जस्ता फिल्म देखाइएको थियो।