फेडेरर सेमिफाइनलमा


लन्डन, (एजेन्सी)
विश्व नम्बर दुई रोजर फेडेरर सिनसिनाटी मास्टर्सको सेमिफाइनलमा पुगेका छन् । स्विस खेलाडीले आफ्नै राष्ट्रका स्टारिन्का वावरिन्कालाई ६–७, ७–६, ६–२ ले हराएका हुन् । योसँगै फेडेररको वावरिन्काविरुद्ध जितहारको रेकर्ड २१–३ भएको छ । चट्याङले गर्दा २१ मिनेटसम्म खेल रोकिनु परेको थियो । सात पटकको च्याम्पियनले स्थगित खेल पुन सुचारु हुँदा वावरिन्काको सर्भिस ब्रेक गर्दै तेस्रो सेटमा ४–२ ले अग्रता बनाए ।

पहिलो दुई सेटमा कठिन सामना गर्नु परेका फेडेररले तेस्रो तथा निर्णायक सेटमा आफनो पुरानो खुबी देखाएका थिए । फेडेररले फाइनल पुग्न बेल्जियमका डेविड गोफीनसँग खेल्नेछन् । गोफीनले अर्जेन्टिनाका हुआन मार्टिन डेल पोट्रोलाई ७–६, ७–६ ले हराउँदै स्तब्ध नतिजा निकालेका थिए ।

यस्तै पूर्व नम्बर एक तथा विम्बल्डन च्याम्पियन नोभाक जोकोभिचले मारिन चिलीचसँग अन्तिम चारमा खेल्ने तय गरे । सर्बियाली खेलाडीले सिनसिनाटीमा पाँच पटक फाइनल खेले तर पाँचै पटक हारको सामना गर्नु परेको छ । उनी सिनसिनाटीमा पहिलो उपाधिको लागि खेल्दैछन् । क्रोएसियाका चिलिीचले स्पेनका पाब्ले कारेनो बुस्टालाई ७–६, ६–४ ले हराएका थिए ।

यसैगरी महिला सिंगल्सतर्फ शीर्ष वरियताकी सिमोना हालेपले ४–१ ले पछि परेको स्थिति उल्ट्याएर युक्रेनकी लेसिया सुरेन्कोलाई ६–४, ६–१ ले पन्छाएकी थिइन् । हालेपको यो एकैदिनमा दोस्रो प्रतिस्पर्धा थियो । यसअघि तेस्रो चरणमा उनले अस्टे«लियाकी एश्लेग बार्टीलाई पराजित गरेकी थिइन् । रोमानिया खेलाडीले अन्तिम चारमा बेलारुसकी २० वर्षीया खेलाडी आर्यीना साबालेन्कासँग खेल्नेछिन् । साबालेन्काले अमेरिकाकी मेडिसीन कीजलाई स्तब्ध तुल्याएकी थिइन् ।

यस्तै महिला सिंगल्सको अन्तिम चारमा चेककी पेट्रा कीभोटा र हल्यान्डकी किकी बेर्टेन्स पुगेका छन् । सेरेना विलियम्सलाई हराएकी कीटोभाले बेल्जियनकी एलीस मेर्टेन्सलाई ७–५, ५–७, ६–३ ले हराइन् । बेर्टेन्सले युक्रेनकी एलीना स्वीटोलीनालाई ६–४, ६–३ ले पराजित गरेकी थिइन् ।