नेपाल समाचारपत्र, काठमाडौं
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश नम्बर २ सबैभन्दा बढी सम्भावना बोकेको प्रदेश भएको बताउनुभएको छ । उहाँले प्रदेशको विकासका लागि संघीय सरकारले विशेष नीति बनाएको बताउनुभएको हो ।
जनकपुरमा शनिवार २ नम्बर प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जनताको आधारभूत आवाश्कता पूरा गर्दै तराई मधेसमा कृषिको आधुनिकीकरण गरिने बताउनभुयो ।
प्रधानमन्त्रीले तराईलाई सुख्खा र मरुभूमिबाट जोगाउनुपर्ने बताउँदै कोशी–मरिन–कमला डाइभर्सन निर्माण गरेर सिँचाइको व्यवस्था मिलाउने बताउँदै तराईमा मल कारखाना खोल्ने प्रतिबद्धता व्यक्त गर्नूभयो ।
विकासका लागि ठूला योजनाहरु बनाउनै पर्नेमा जोड दिएको बताउँदै प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘‘साँझ विहान छाक टार्ने मात्रै कुराले मुलुक विकसित हुन सक्दैन, सुखी नेपालीः समृद्ध नेपाल’ को नारालाई भारत र चीनले पनि साथ दिएको छ ।’
प्रधानमन्त्रीले तराईको सप्तरीबाट नेपाल समुद्रसँग जोडिन लागेको बताउँदै राजविराजमा मेडिकल कलेज खोल्ने, पाँच वर्षभित्र हुलाकी सडक निर्माण गर्ने, २ नम्बर प्रदेशका ८ जिल्लामा ८ हजार घर निर्माण गर्नेलगायतका योजना कार्यान्वयमा ल्याइएको प्रतिबद्धता व्यक्त गर्नुभयो ।
प्रधानमन्त्रीले आफ्नो जीवन विभेदविरुद्ध लडेको स्मरण गर्दै नयाँ संविधानमा कुनै क्षेत्र र समूदायले विभेदको महसुस गरे संविधान संशोधन गर्न सकिने पनि धारणा व्यक्त गर्नुभयो । उहाँले कुनै पनि नेपाली नागरिकता विहीन हुन नसक्ने बताउनुभयो ।











प्रतिक्रिया